भोटेकोशी बाढीमा श्रीमान बेपत्ता भएपछि २५ दिनदेखि श्रीमतीको पर्खाइ
काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि श्रीमान् सम्पर्कविहीन भएपछि जनकपुरकी पूजा शाह २५ दिनदेखि पर्खाइमा छिन्।
उनका श्रीमान् ३० वर्षीय इन्जिनियर अजयप्रसाद सिंह रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिए। बाढी आएपछि उनी बेपत्ता भएको पूजाले बताएकी छन्।
पूजाले श्रीमान्सँगको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै भगवानसँग श्रीमान्लाई सकुशल फर्काइदिन भावुक आग्रह गरेकी छन्।
‘भगवान, साँच्चिकै तिमी छौ भने मेरो यो पुकार किन सुनिरहेका छैनौ? यति धेरै दिनदेखि तिमीलाई पुकारिरहेकी छु, रोइरहेकी छु, प्रार्थना गरिरहेकी छु। मेरो बुढो २४ दिनदेखि बेपत्ता छन्,’ उनले लेखेकी छन्।
उनले श्रीमान्को खोजीमा बितेका हरेक पल निकै पीडादायी भएको बताउँदै आफूलाई अनिश्चितताले झनै कमजोर बनाइरहेको उल्लेख गरेकी छन्।
‘हे भगवान, मसँग केही माग छैन, केही चाहिएको छैन—मलाई मेरो मान्छे मात्र फर्काइदेऊ। जहाँ छन्, जसरी छन्, सुरक्षित राखेर मेरो अगाडि ल्याइदेऊ,’ पूजाले लेखेकी छन्।
छोरीलाई बाबाको आवश्यकता रहेको उल्लेख गर्दै उनले आफ्नो ‘सानो संसार’ फेरि पूरा गरिदिन भगवानसँग प्रार्थना गरेकी छन्।
‘मेरो छोरीलाई उसको बाबा चाहिएको छ, मलाई मेरो बुढो चाहिएको छ। हाम्रो सानो संसार फेरि पूरा गरिदेऊ,’ उनले भनेकी छन्।
लामो समयदेखि श्रीमान्को अवस्थाबारे कुनै जानकारी नपाउँदा आफू निकै कठिन मानसिक अवस्थामा रहेको बताउँदै उनले छोरीलाई हेरेर आफूलाई सम्हालिरहेको उल्लेख गरेकी छन्।
‘मेरो यो अन्तिम आशा नतोडिदेऊ। मलाई कमजोर नबनाऊ, मेरो बुढोलाई सकुशल फर्काइदेऊ,’ उनले लेखेकी छन्।
उनले जहाँ भए पनि श्रीमान्लाई सकुशल फर्काइदिन र छोरीलाई बाबाको काखमा फर्काइदिन भावुक अपिल गरेकी छन्।

