मधेशमा हिरो बन्दै ‘अमरेश’
काठमाडौं। सरकारी काम लिएर मधेश दौडाहामा निस्किएका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सिरहामा आयोजित कार्यक्रम बीचमै छाड्नुपर्यो। उनी बोल्न थालेपछि कार्यक्रमस्थलमा होहल्ला भयो। अवस्था सहज नभएपछि मन्त्री उठेर हिँडे।
त्यसको भोलिपल्ट सप्तरीमा पनि स्थानीय युवासँग उनको भनाभन भएको भिडियो सामाजिक सञ्जालमा आयो। दुई दिन लगातार देखिएका यी घटनाले एउटा प्रश्न खडा गरिदिएको छ। मधेशमा रास्वपाका मन्त्रीप्रति किन यस्तो असन्तुष्टि देखिन थालेको छ?
त्यसमा पनि अहिले सबैभन्दा धेरै असन्तुष्ट पात्र हुन्, रास्वपा सांसद अमरेशकुमार सिंह।
भदौ दोस्रो साता पार्टीको संसदीय दलको बैठकमै अमरेशले सरकारको लोकप्रियता घट्दै गएको बताएका थिए। मन्त्रीहरूकै अगाडि र सभापति रवि लामिछानेकै सामुन्ने उनले सरकारका सयवटा कमजोरी निकाल्न आफूलाई एक हप्ता समय दिए पुग्ने बताएका थिए।
मधेशमा छठपछि रास्वपाका सांसदले पिटाइ खानुपर्ने अवस्था आउन सक्ने उनको चेतावनी थियो।
अहिले सिरहामा मन्त्रीमाथि भएको विरोधलाई कतिपयले त्यही अभिव्यक्तिसँग जोडेर हेर्न थालेका छन्। केहीले त अमरेशको चेतावनीको ‘ट्रेलर’ नै देखिएको टिप्पणी गर्न थालेका छन्।
तर सिरहाको घटनाभित्रको प्रसङ्ग अलि फरक छ।
घटनापछि मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरे। छोटो भिडियो क्लिप काटेर पूरै घटनाको सन्दर्भ बङ्ग्याउन खोजिएको उनको आरोप थियो।
तर स्थानीय रास्वपा नेताहरूको भनाइले घटनाको अर्को पाटो देखाउँछ।
कार्यक्रममा माला लगाएर अतिथिका रूपमा मञ्चमा राखिएका रास्वपाकै केही स्थानीय नेता बोल्न नपाएपछि असन्तुष्ट बनेका थिए। उनीहरूको प्रश्न थियो, बोल्न नदिने भए कार्यक्रममा किन बोलाएको?
त्यही विषयमा भनाभन बढेपछि कार्यक्रमको माहोल बिग्रिएको र मन्त्रीले कार्यक्रम छाड्नु पर्यो।
मन्त्रीविरुद्ध स्थानीयको विरोधजस्तो देखिएको घटना रास्वपाकै स्थानीय नेताको असन्तुष्टिबाट सुरु भएको दाबी छ।
रास्वपाकै एकथरी नेताले भने घटनामा मन्त्री पोखरेलकै कार्यशैलीलाई कारण मानेका छन्।
शिक्षा कार्यालय र स्थानीय तहबाटै टुंगिनुपर्ने काममा मन्त्री आफैं जिल्ला जिल्ला पुग्दा स्थानीय तहमा अनावश्यक अपेक्षा र विवाद बढ्ने उनीहरूको भनाइ छ।
त्यसमाथि विरोध भयो भन्दैमा मन्त्री कार्यक्रम छाडेर हिँड्नु पनि उचित नभएको उनीहरू तर्क गर्छन्।
एक स्थानीय नेताका अनुसार यसले मधेशमा रास्वपाको संगठन कमजोर रहेको सन्देश दिएको छ।
ती नेताले नेपाल वान एचडी सँग भने, ‘मन्त्री-सांसदलाई स्थानीय स्तरमै दबाब दिएर पछि हटाउन सकिन्छ भन्ने मनोविज्ञान बनेको छ।’ उनले भने, ‘ मधेश बालेन सरकारसँग असन्तुष्ट छ। त्यहिँमाथि मधेशको समग्र कन्ट्रोल अमरेशजीको हातमा छ। बिस्तारै त्यो माहौल बन्दैछ। मधेशको हितमा नउभिने सरकार हामीलाई चाहिँदैन’
यही कारण सिरहाको घटना एउटा कार्यक्रमको होहल्लामा सीमित छैन। यसले रास्वपाको मधेश संगठनबारे पनि प्रश्न उठाएको छ।
मधेशमा सरकार र विशेषगरी शिक्षामन्त्री पोखरेलप्रति अमरेश पछिल्लो समय निकै आक्रामक छन्।
परम्परागत मधेशवादी दलहरू कमजोर बनेको अवस्थामा उनी संसद्मा खुलेर सरकारको आलोचना हुने गर्छ। मधेशमा उनको व्यक्तिगत राजनीतिक प्रभावबारे पनि विभिन्न धारणा छन्।
जनकपुरमा हालै बसेको अग्रगामी मोर्चाको बैठकले छठपछि सरकारविरुद्ध व्यापक विरोध गर्ने धारणा अघि सारेको बताइएको छ। यो अमरेशले उठाइरहेको राजनीतिक मुद्दासँग पनि मिल्दोजुल्दो देखिन्छ।
अमरेश स्वयं हुलाकी राजमार्ग केन्द्रित पदयात्राको तयारीमा छन्।
आफ्नै पार्टीका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)माथि संसद्मा आक्रामक अभिव्यक्ति दिएपछि उनी मधेश झरेका हुन्। यद्यपि,सिरहामा मन्त्री पोखरेल कार्यक्रमबाट बाहिरिनुपरेका बेला अमरेश भने कपिलवस्तुमा थिए।
यहीँबाट अर्को प्रश्न उठ्छ। निर्वाचनअघि बालेन्द्र प्रधानमन्त्री नबने आत्मदाह गर्ने घोषणा गरेका अमरेश अहिले किन आफ्नै पार्टीको सरकारविरुद्ध यति कडा रूपमा उभिएका छन्?
यता अमरेशले सरकारको आलोचना मात्रै गरेका छैनन्। कतिपय संवेदनशील विषयमा समेत सार्वजनिक रूपमा प्रश्न उठाएका छन्।
तर उनको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री बालेन वा पार्टी नेतृत्वबाट अहिलेसम्म सार्वजनिक रूपमा खासै प्रतिक्रिया आएको छैन।
रास्वपाकै सचेतक क्रान्तिशिखा धितालको प्रसंगमा भने पार्टीको प्रतिक्रिया फरक देखिएको थियो। जेनजी दिवसका दिन आयोजित कार्यक्रममा विवादित धर्मगुरुसँग जोडिएको विषय उठाउँदा उनले गृहमन्त्री सुधन गुरुङको असन्तुष्टि खेप्नुपरेको थियो। सभापति रवि लामिछानेले पनि उनलाई सचेत गराएका थिए।
तर प्रधानमन्त्रीको नेतृत्वमाथि नै प्रश्न उठाइरहेका अमरेशका हकमा पार्टी किन मौन छ?
यही मौनताले पनि रास्वपाभित्र अमरेशको राजनीतिक हैसियतबारे चर्चा बढाएको छ।
मधेशमा अहिले पुरानो राजनीतिक नेतृत्व कमजोर छ। मधेशवादी दलहरू निर्वाचनमा कमजोर भएपछि नयाँ राजनीतिक विकल्पको खोजी भइरहेको छ। यही अवस्थालाई आफ्नो पक्षमा प्रयोग गर्ने योजनामा अमरेश रहेको चर्चा छ।
हालै उनीसँग भेटेर फर्किएका एक नेता भन्छन्, ‘पार्टीबाट स्पष्टीकरण वा कारबाही हुने सम्भावनाबाट खासै चिन्तित देखिँदैनन्। बरु त्यस्तो कदमले आफ्नो राजनीतिक बाटो अझ फराकिलो हुन्छ’
अर्थात्, पार्टीले कारबाही गरे पनि त्यसलाई आफ्नै राजनीतिक यात्राको आधार बनाउने तयारीमा उनी छन् भन्ने विश्लेषण भइरहेको छ।
निर्वाचनअघि बालेन्द्र साहलाई ‘मधेशका बेटा’का रूपमा प्रस्तुत गर्दै मधेशमा देखिएको आकर्षण अहिले बदलिँदै गएको विश्लेषण हुन थालेको छ।
त्यसको असर रास्वपाको संगठनमा पनि देखिन थालेको बताइन्छ।
मधेशमा अहिले पुरानो नेतृत्वप्रति असन्तुष्टि छ। नयाँ विकल्पको खोजी पनि छ। यही खाली ठाउँमा आफूलाई स्थापित गर्ने प्रयास अमरेशले गरिरहेको विश्लेषकहरू जिकिर गर्छन्।
