`

नयाँ प्रणालीबाट धमाधम लाइसेन्स छापिँदै

Nepal One HD ४ असोज २०८३ १३:२०
विज्ञान-प्रविधि

काठमाडौं । सवारी चालक अनुमतिपत्र लिन र छाप्न वर्षौँ कुर्नुपर्ने समस्या हटाउने भन्दै सरकारले नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु गरेको छ।

साउन १ गतेदेखि लागू गरिएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत लाइसेन्स छपाइ सुरु गरिएको हो।

यातायात व्यवस्था विभागका अनुसार नयाँ लाइसेन्स बनाउने र पुरानो नवीकरण गर्ने दुवै प्रक्रियालाई छिटो र सहज बनाउने उद्देश्यले प्रणाली सञ्चालनमा ल्याइएको हो।

नयाँ प्रणालीमा सेवाग्राहीको विवरण अपलोड भएपछि त्यो विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछ।

सुरक्षण मुद्रणले लाइसेन्स छापेर हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउनेछ। त्यसपछि सेवाग्राहीले सम्बन्धित कार्यालयबाट लाइसेन्स पाउनेछन्।

यसले लाइसेन्स छपाइ र वितरणमा लामो समयदेखि देखिँदै आएको समस्या घट्ने मन्त्रालयको दाबी छ।

नयाँ प्रणालीबाट पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छापिएका छन्।

छापिएका लाइसेन्स वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइसकिएको छ।

मधेश प्रदेशले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ।

लुम्बिनी प्रदेशले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरेको छ। सम्झौतापछि त्यहाँ पनि लाइसेन्स छपाइ सुरु भएको छ।

नयाँ व्यवस्थाअनुसार प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफ्नै व्यवस्थापनमा लाइसेन्स छाप्न सक्नेछ।

सम्झौता नगरेका प्रदेशका लागि भने यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणले समन्वय गरेर लाइसेन्स छपाइ गर्नेछन्।

सरकारको दाबीअनुसार अब प्रदेशअनुसार छपाइको जिम्मेवारी व्यवस्थापन हुनेछ। सेवाग्राहीले लामो समय लाइसेन्स कुरिरहनुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्य राखिएको छ।

तर नयाँ प्रणाली कति छिटो र प्रभावकारी हुन्छ भन्ने कुरा यसको कार्यान्वयन र प्रदेशबीचको समन्वयमा निर्भर हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *