`

नवजात ‘एक्सोप्लानेट’ फेला

Nepal One HD १ असोज २०८३ १६:४४
बिशेष

काठमाडौं । खगोलविद्हरूले अहिलेसम्म पत्ता लागेको सबैभन्दा कम उमेरको एक्सोप्लानेट फेला पारेका छन्। 

रोचक पक्ष के छ भने करिब ४५० प्रकाशवर्ष टाढा रहेको यो ‘ ग्रह नयाँ अवलोकनबाट नभई वर्षौँ पुरानो अभिलेखीय तथ्यांक अध्ययन गर्ने क्रममा फेला परेको हो।

इलियस २–२४ बी नाम दिइएको यो ग्रहको द्रव्यमान (मास) बृहस्पति ग्रहको हाराहारीमा रहेको छ। आकारमा विशाल भए पनि यसको उमेर भने १० लाख वर्षभन्दा कम रहेको वैज्ञानिकहरूको अनुमान छ। यससँगै इलियस २–२४ बी अहिलेसम्म पत्ता लागेको सबैभन्दा कम उमेरको ग्रह बनेको छ।

यो ग्रह आफ्नो जन्म भएको तारालाई घेरेर रहेको ग्यास र धुलोको घुमिरहेको डिस्कभित्रै रहेको छ। त्यसैले ग्रह निर्माणको सुरुआती चरणमै रहेको यस्तो संसारको अध्ययनले ग्रह कसरी जन्मिन्छन् र प्रारम्भिक अवस्थामा कसरी विकसित हुन्छन् भन्ने बुझ्न वैज्ञानिकहरूलाई महत्वपूर्ण अवसर दिएको छ।

यसअघि सबैभन्दा कम उमेरका एक्सोप्लानेटका रूपमा चिनिएका चार ग्रहको उमेर ५० लाख वर्षभन्दा बढी थियो। चिलीस्थित इन्स्टिटुटो दे एस्तुदियोस आस्त्रोफिसिकोसका प्राध्यापक तथा अध्ययनका सहलेखक लुकास सिएजाका अनुसार यसअघिका सबैभन्दा कम उमेरका ग्रहको निर्माण प्रक्रिया नै विद्यमान ग्रह–निर्माण मोडलका लागि चुनौतीपूर्ण थियो।

इलियस २–२४ बीको खोजले ग्रह निर्माणसम्बन्धी वैज्ञानिक मोडलमा अझै केही महत्वपूर्ण प्रक्रिया छुटिरहेको संकेत गरेको सिएजाले बताएका छन्।

चिलीस्थित युनिभर्सिदाद डिएगो पोर्तालेसकी विद्यावारिधि अनुसन्धानकर्ता आन्द्रेआ बर्नार्डी नेतृत्वको टोलीले हवाईस्थित डब्ल्यू. एम. केक अब्जर्भेटरीबाट संकलन गरिएको पुरानो तथ्यांक अध्ययन गरेको थियो।

अनुसन्धानको केन्द्रमा इलियस २–२४ नामको तारा थियो। उक्त तारालाई ग्यास र धुलोबाट बनेको ठूलो डिस्कले घेरेको छ। यसअघि अटाकामा लार्ज मिलिमिटर/सबमिलिमिटर एरे (आल्मा) र युरोपियन सदर्न अब्जर्भेटरीको भेरी लार्ज टेलिस्कोप (भीएलटी) बाट गरिएको अवलोकनमा उक्त डिस्कमा एउटा खाली भाग देखिएको थियो।

वैज्ञानिकहरूले त्यही खाली भागभित्र कुनै ग्रह हुन सक्ने अनुमान गरेका थिए।

केक अब्जर्भेटरीको कोरोनाग्राफबाट प्राप्त अभिलेखीय तथ्यांकले अन्ततः उक्त अनुमानलाई पुष्टि गर्‍यो। कोरोनाग्राफले ताराबाट आउने अत्यधिक चम्किलो प्रकाशलाई रोक्ने भएकाले ताराको वरिपरि रहेका कमजोर प्रकाश भएका ग्रहलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न सहयोग गर्छ।

अनुसन्धान टोलीले ग्रह निर्माण भइरहेको हुन सक्ने धुलो र ग्यासका डिस्कले घेरिएका सातवटा टाढाका तारासम्बन्धी कोरोनाग्राफ तथ्यांक अध्ययन गरेको थियो। उनीहरूको अनुमानअनुसार ग्रहले आफ्नो वरिपरि रहेको पदार्थ हटाउँदै जाँदा डिस्कमा खाली भाग बन्न सक्छ।

त्यही खाली भागमा इलियस २-२४ बी फेला परेको हो।

बर्नार्डीका अनुसार ग्रहहरू डिस्कभित्र रहेका पदार्थलाई हटाउँदै जाने भएकाले उनीहरू त्यस्ता खाली भागमा भेटिनुपर्ने अपेक्षा गरिएको थियो। इलियस २–२४ बी त्यही स्थानमा भेटिनुले उक्त अवधारणालाई थप बल दिएको छ।

वैज्ञानिकहरूका अनुसार यति कम उमेरको ग्रह भेटिनु ग्रह निर्माणको सुरुआती चरण अध्ययन गर्ने दुर्लभ अवसर हो।

सिएजाका अनुसार आकाशगंगामा निरन्तर नयाँ तारा र ग्रह निर्माण भइरहेका छन्। त्यसैले सिद्धान्ततः ग्रह विकासका विभिन्न चरणलाई अध्ययन गर्न सकिने भए पनि अहिलेका अधिकांश टेलिस्कोपले ग्रह निर्माणको प्रारम्भिक अवस्थालाई पर्याप्त रूपमा देख्न सकिरहेका छैनन्।

वैज्ञानिकहरू अहिले यस्ता नवजात ग्रहको अध्ययनमा धेरै हदसम्म सीमित अवस्थामा रहेको बताउँछन्।

भविष्यमा भने नयाँ पुस्ताका दूरबिनले यो अवस्था परिवर्तन गर्न सक्ने अपेक्षा गरिएको छ। विशेषगरी नासाको न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोपमा रहेको कोरोनाग्राफ उपकरणबाट एक्सोप्लानेटको प्रत्यक्ष अवलोकन अझ प्रभावकारी हुने वैज्ञानिकहरूको अपेक्षा छ।

यस उपकरणमार्फत एक्सोप्लानेट तथा तिनका वायुमण्डलको थप विस्तृत अध्ययन गर्न सकिने वैज्ञानिकहरूको अपेक्षा छ। 

बर्नार्डीका अनुसार इलियस २–२४ बी अहिले उपलब्ध दूरबिनले पत्ता लगाउन सक्ने क्षमताको सीमामा रहेको छ। नयाँ उपकरण प्रयोगमा आएपछि यस्ता नवजात ग्रह पत्ता लगाउन अझ सहज हुने  उनले बताएका छन्। 

उनि भन्छन्, ‘यो खोज कुनै एउटै दूरबिनको अवलोकनमा आधारित नभई विभिन्न दूरबिनबाट प्राप्त तथ्यांकलाई एकसाथ अध्ययन गरेपछि सम्भव भएको हो।’ 

[अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा तयार गारिएको]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *