देउवा पक्षका ५१ नेता फर्किए, सानेपाबाट गगनले दिए यस्तो सन्देश
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि चर्किएको आन्तरिक विवाद तत्कालका लागि समायोजनतर्फ मोडिएको छ ।
विशेष महाधिवेशनपछि छुट्टाछुट्टै गतिविधि गर्दै आएका पूर्वसभापति शेरबहादुर देउवा पक्षका प्रभावशाली नेताहरू बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा फर्किएका छन् ।
सभापति गगनकुमार थापाले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा देउवा पक्षनिकट ५१ जना निवर्तमान केन्द्रीय सदस्य सहभागी भएका छन् । १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका पदाधिकारी तथा सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने निर्णयसँगै उनीहरूलाई बैठकमा सहभागी गराइएको हो ।
दिउँसो २ बजे बोलाइएको बैठकमा पूर्वसभापति देउवा पक्षका प्रभावशाली नेताहरूको उपस्थितिलाई कांग्रेसभित्रको विभाजन कम गर्ने प्रयासका रूपमा हेरिएको छ । यसअघि देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी अघि बढाउँदै आएको थियो । तर पूर्णबहादुर खड्कालगायतका नेताहरू गगन नेतृत्वको कार्यसमितिमा समायोजन हुने भएपछि देउवा पक्षभित्रै मतभेद देखिएको थियो ।
देउवा पक्षबाट गगन नेतृत्वको कार्यसमितिमा समाहित हुने नेताहरूमा डिना उपाध्याय, श्याम घिमिरे, रामहरि खतिवडा, सुरेन्द्र पाण्डे, मीनबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, इन्द्रबहादुर बानियाँ, नैनसिंह महर, जीवनबहादुर शाही, सुशीला थिङ र गोविन्द भट्टराईलगायत छन् ।
बैठकमा सभापति थापाले पार्टीभित्र भएका तिखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिन नेताहरूलाई आग्रह गरेका छन् । उनले कांग्रेसलाई ‘दाइभाइको पार्टी’ र एउटै परिवारको रूपमा चित्रण गर्दै परिवारभित्र कहिलेकाहीँ ठेस लाग्नु स्वाभाविक भएको बताए ।
‘मैले कहिलेकाहीँ बोल्दै गर्दा कसैको बारेमा तिखो टिप्पणी गरेको होला, कसैले मेरो बारेमा तिखो टिप्पणी गरेको होला । हामी कहिले पनि त्यो कुरालाई व्यक्तिगत रूपमा लिएका छैनौँ,’ थापाले भने ।
उनले आफूबाट पनि कमजोरी भएको हुन सक्ने र अरू नेताबाट पनि त्यस्तो भएको हुन सक्ने भन्दै त्यसलाई सामान्य रूपमा लिएर संवादबाट अघि बढ्नुपर्ने बताए ।
‘हाम्रो पार्टी दाइभाइवाला पार्टी हो । हाम्रो पार्टी परिवार हो । एउटै परिवार हो । परिवारमा सँगै बस्दा कहिलेकाहीँ ठेस लाग्छ,’ थापाले भने, ‘मबाट पनि भयो होला, अरू साथीहरूबाट पनि भए होलान् । यी सामान्य कुरा हुन् । यसलाई सौहार्द बनाउँदै छलफल गर्दै लैजाने कुरा हो ।’
थापाले पूर्वसभापति शेरबहादुर देउवालाई समेत महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् । उनले असोज ३ र ४ गतेबाट वडा अधिवेशन सुरु हुने उल्लेख गर्दै देउवा आफैँ आएर वडा अधिवेशनको उद्घाटन गरिदिए आफूहरूका लागि सम्मानको विषय हुने बताए ।
कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन, त्यसपछि पालिका तथा निर्वाचन क्षेत्रीय अधिवेशन गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ ।
यसअघि देउवा पक्षले भने असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी अघि बढाएको थियो ।










