`

किन चल्यो देवानगञ्जमा गोली?

Nepal One HD ४ असोज २०८३ १३:२६
बिशेष

सुनसरी । युवतीको विषयमा भएको विवादले सुनसरीको देवानगञ्जमा गोली चलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

शनिबार साँझ देवानगञ्ज गाउँपालिका–१ कप्तानगञ्जका १९ वर्षीय नीरजकुमार यादवमाथि गोली प्रहार भएको थियो। दायाँ खुट्टाको माथिल्लो भागमा गोली लागेका यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको थियो।

अस्पतालमा अपरेसन गरेर चिकित्सकहरूले उनको शरीरबाट एउटा गोली निकालेका छन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले देवानगञ्ज–२ का जयकिशोर यादव र विष्णुकुमार यादवलाई पक्राउ गरेको छ। जयकिशोरलाई स्थानीयले ‘लाली’ भनेर चिन्ने गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न थप चार जना फरार छन्। उनीहरूको पहिचान खुलेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए।

प्रहरीका अनुसार गोली चलाउने समूह र घाइते यादव पूर्वपरिचित हुन्। युवतीको विषयमा विवाद बढेपछि उनीहरूबीच झगडा भएको र त्यसैक्रममा गोली चलेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

तर विवादको वास्तविक कारण र घटनामा कसको कस्तो भूमिका थियो भन्ने अझै खुलिसकेको छैन।

‘फरार आरोपीहरूको पनि पहिचान खुलेको छ। उनीहरूलाई नियन्त्रणमा लिएपछि यकिन विवरण थाहा हुन्छ,’ डीएसपी खड्काले भने।

घटनास्थलबाट वा यादवको शरीरबाट निकालिएको गोली परीक्षण गरिने भएको छ। परीक्षणपछि गोली कुन हतियारबाट चलेको थियो भन्ने यकिन हुने प्रहरीले जनाएको छ।

पक्राउ परेका दुई जनामाथि अनुसन्धान भइरहेको छ। फरार चार जनालाई पनि पक्राउ गरेपछि देवानगञ्जमा गोली चल्नुको पूरा कारण खुल्ने प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *