`

कांग्रेस वडा अधिवेशनमा रस्साकस्सी : क्षेत्रीय प्रतिनिधि बन्न तँछाडमछाड

Nepal One HD ४ असोज २०८३ १६:५१
बिशेष

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु भएसँगै क्षेत्रीय प्रतिनिधि बन्न नेता तथा कार्यकर्ताबीच रस्साकस्सी चलेको छ।

कांग्रेसको विधानअनुसार पालिकादेखि केन्द्रीय नेतृत्वसम्म पुग्न क्षेत्रीय प्रतिनिधि बन्नुपर्ने भएपछि वडा अधिवेशनमा प्रतिनिधि चयनलाई लिएर प्रतिस्पर्धा बढेको हो।

देशभरका अधिकांश नेता तथा कार्यकर्ता वडा अधिवेशनमा केन्द्रित भएका छन्। केही नेता तथा कार्यकर्ताले भने ‘कुलिङ पिरियड’ र एकताको महाधिवेशनको विषय उठाउँदै अधिवेशनमा सहभागी नहुने बताएका छन्।

वडा अधिवेशनबाटै क्षेत्रीय प्रतिनिधि चयन हुने भएकाले माथिल्लो तहको नेतृत्वमा पुग्न चाहनेहरू वडा तहको प्रतिस्पर्धामा होमिएका छन्।

विराटनगर महानगरपालिकाका सचिव तेजेन्द्र भट्टराईका अनुसार महानगरका अधिकांश वडामा अधिवेशन जारी छ। २० वडामध्ये केही वडामा अधिवेशन सम्पन्न भइसकेको छ।

ती वडाबाट पदाधिकारी र क्षेत्रीय प्रतिनिधिसमेत चयन भइसकेका छन्। बाँकी वडाको अधिवेशन पनि शनिबार बेलुकासम्म सम्पन्न हुने भट्टराईले बताए।

‘क्षेत्रीय प्रतिनिधि बन्न चाहने क्रियाशील सदस्यको संख्या धेरै छ। त्यसैले मिलाउने काम भइरहेको छ,’ उनले भने।

विराटनगर महानगर कांग्रेस नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्रसमेत हो। कोइरालासहित उनीनिकट केही नेताले एकताको महाधिवेशनको माग गर्दै जारी अधिवेशन रोक्न आग्रह गरेका थिए। तर अधिकांश नेता तथा कार्यकर्ता अधिवेशनमै सहभागी भएका छन्।

यसपटक युवाहरूले समेत क्षेत्रीय प्रतिनिधिमा दाबी गरेका छन्। त्यसले कतिपय वडामा प्रतिनिधि छनोट थप पेचिलो बनेको छ।

नेपाली कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजंग रायमाझीका अनुसार देशभर शुक्रबारसम्म करिब २९ सय वडाको अधिवेशन सम्पन्न भइसकेको छ।

शनिबार करिब ३ हजार वडाको अधिवेशन सम्पन्न हुने उनको भनाइ छ।

रायमाझीका अनुसार विभिन्न क्लस्टरबाट क्षेत्रीय प्रतिनिधि छनोट गर्नुपर्ने भएकाले कतिपय स्थानमा समय लागेको छ।

‘क्लस्टरहरू धेरै छन्। कुन क्लस्टरबाट कसलाई क्षेत्रीय प्रतिनिधि पठाउने भन्ने विषयमा छलफल गर्नुपर्छ। भोलिसम्म देशभरका सबै वडा अधिवेशन र क्षेत्रीय प्रतिनिधि छनोट गरिसक्ने तयारी छ,’ उनले भने।

कांग्रेसको विधानअनुसार १५० जनासम्म क्रियाशील सदस्य रहेको वडाबाट २३ जना क्षेत्रीय प्रतिनिधि चयन हुन्छन्।

यसमा ३ जना महिला, ५ जना खुला, १ जना पेसागत तथा विषयगत क्षेत्र, १ जना महिला युवा, २ जना खुला युवा, ६ जना समानुपातिक, १ जना अपाङ्गता भएका व्यक्ति, १ जना दलित तथा २ जना जनजाति, आदिवासी, पिछडिएको क्षेत्र तथा अन्य समूहबाट प्रतिनिधि चयन हुने व्यवस्था छ। १ जना श्रमिक प्रतिनिधि पनि रहनेछन्।

क्रियाशील सदस्य संख्या बढ्दै जाँदा क्षेत्रीय प्रतिनिधिको संख्या पनि बढ्ने व्यवस्था छ।

विधानअनुसार २५० क्रियाशील सदस्य भएको वडाबाट ३२ जना, ३५० सदस्यबाट ४१ जना, ४५० सदस्यबाट ५० जना, ५५० सदस्यबाट ५९ जना, ६५० सदस्यबाट ६८ जना र ७५० सदस्यसम्म भएको वडाबाट ७५ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।

वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिको भूमिका वडा तहमा मात्र सीमित हुँदैन।

उनीहरूले पालिका र जिल्ला कार्यसमिति चयनमा भूमिका खेल्छन्। यही प्रतिनिधिमध्येबाट प्रदेश क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रीय समिति, प्रदेश अधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधिसमेत चयन हुने व्यवस्था छ।

त्यसैले अहिले कांग्रेसभित्र वडा अधिवेशनसँगै क्षेत्रीय प्रतिनिधि बन्ने प्रतिस्पर्धा पनि महत्त्वपूर्ण बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *