रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी राहतदेखि संगठन विस्तारसम्म
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकबाट भोटेकोशी विपद् व्यवस्थापन, पार्टीका सांगठनिक गतिविधि पुनः सञ्चालन तथा विभिन्न पदमा नियुक्तिसहितका निर्णय गरेको छ।
पार्टीले जारी गरेको विज्ञप्तिअनुसार बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोजी, उद्धार, राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणका विषयमा सरकारमा सहभागी पदाधिकारी तथा सदस्यहरूबाट जानकारी लिएको छ। बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेका व्यक्तिको शीघ्र डीएनए परीक्षण गर्न तथा बेपत्ता व्यक्तिका परिवारलाई सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो अघि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरिएको छ।
त्यस्तै, संयुक्त राष्ट्रसङ्घीय महासभामा नेपालको सहभागिताका विषयमा प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलगायतको टोलीलाई भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्ष, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाबारे सम्बोधन गर्न तयारी गर्ने गरी नीतिगत निर्देशन दिइएको छ।
बैठकले भोटेकोशी विपद्का कारण स्थगित गरिएका पार्टीका सम्पूर्ण आधिकारिक गतिविधि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। यसअन्तर्गत ‘हामी सँगैछौँ’ अभियान, ‘नागरिक नीति र नेतृत्व’ अभियान, स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया तथा सांगठनिक र जनसम्पर्कका कार्यक्रम तत्काल अघि बढाइने भएको छ।
पार्टीका मधेश प्रदेशको सांगठनिक अवस्था तथा कार्यसम्पादन अडिटसम्बन्धी प्रारम्भिक प्रतिवेदन पनि बैठकमा प्रस्तुत गरिएको छ। विस्तृत प्रतिवेदन प्राप्त भएपछि आवश्यक थप रणनीतिक कदम अघि बढाउने निर्णय गरिएको छ।
बैठकले केन्द्रीय अनुशासन आयोगमा विभिन्न अधिवक्ताहरूलाई सदस्यका रूपमा नियुक्त गरेको छ। त्यस्तै, युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुख र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका सदस्यहरूमा समेत नियुक्ति गरिएको छ। सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई सदस्य नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, नवमनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापतिसमक्ष आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बैठकमा उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो हालै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता तथा आर्थिक कूटनीतिका विषयमा सचिवालयलाई जानकारी गराएका थिए।
बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता जगदीश खरेलले विज्ञप्ति जारी गरेका हुन्।
