पक्राउ परेका व्यक्तिले ब्राउन सुगर प्रहरीकै अगाडि निलेपछि…
काठमाडौं । जुम्लामा ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
चन्दननाथ नगरपालिका–१० बोहोरा गाउँबाट १६ ग्राम ४६० मिलिग्राम पदार्थसहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय केशव देवकोटा र गुठीचौर गाउँपालिका–४ स्थायी ठेगाना भई मामाघरमा बस्दै आएका १७ वर्षीय नवीन न्यौपाने छन्।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक निर्देश बरालको नेतृत्वमा टोली खटिएको थियो। चेकजाँचका क्रममा देवकोटाको घरको कोठामा प्लास्टिकमा पोको पारेर राखिएको धुलो पदार्थ भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त पदार्थ मान्यता प्राप्त तराजुमा तौल गर्दा १६ ग्राम ४६० मिलिग्राम भएको थियो।
चेकजाँचकै क्रममा देवकोटाले बरामद पदार्थमध्ये केही मुखमा हालेर निलेका थिए। त्यसपछि शरीरमा लागुऔषधको मात्रा बढेको देखिएपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको छ।
प्रहरीका अनुसार देवकोटाको अवस्था मध्यम छ। उनी बोल्न सक्ने अवस्थामा छन्।
न्यौपानेलाई भने थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
