`

भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री बालेनको अपिल : ‘राती राजमार्गमा यात्रा नगर्नुहोस्’

Nepal One HD ८ असोज २०८३ २०:४६
राजनीति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा र हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले आज बिहानदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन भारी वर्षाको पूर्वानुमान गरेको बताएका छन् ।

उनले विपद् व्यवस्थापनको मुख्य आधार पूर्वसावधानी र सतर्कता भएको भन्दै सम्भावित विपद्लाई ध्यानमा राखेर नेपाल सरकारका सबै मन्त्रालय तथा मातहतका निकायले पूर्वतयारी तीव्र बनाएको जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका अनुसार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठक गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको छ भने नदी तटीय क्षेत्रमा माइकिङमार्फत स्थानीयलाई सचेत गराइएको छ ।

उनले रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न तथा अनावश्यक लामो दूरीको यात्रा नगरी सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् ।

राजमार्गका सुरक्षा जाँच चौकीहरूले अघिल्लो चेकपोइन्टसँग सम्पर्क गरी सडकखण्ड सुरक्षित रहेको सुनिश्चित भएपछि मात्रै सवारीसाधन अघि बढाउने ‘रोक, पर्ख र हेर’ (Stop, Hold and Go) नीति लागू गरिएको उनले बताएका छन् । जोखिमयुक्त सडकखण्डमा राति सवारी सञ्चालन नगर्नसमेत निर्देशन दिइएको छ ।

सम्भावित बाढी, पहिरो तथा नदी कटानलाई ध्यानमा राखी एक्स्काभेटर, लोडर, डोजरलगायत भारी उपकरण पूर्वव्यवस्था गरी जोखिमयुक्त सडकखण्ड नजिक परिचालन गर्ने तयारी गरिएको छ । सबै सडक डिभिजन कार्यालयलाई २४ सै घण्टा सक्रिय रहन तथा सडकको अवस्था नियमित सार्वजनिक गर्न निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन् ।

त्यस्तै, हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा रहेका आन्तरिक तथा विदेशी पर्यटकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न सम्बन्धित व्यवसायीलाई समन्वय गर्न तथा होटल व्यवसायी र स्थानीय बासिन्दालाई सुरक्षित बासस्थान र सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन् –
आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहीनीहरु,
आज बिहानदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले भोलि असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारि देखि अति वर्षा र हावाहुरि आउन सक्ने पूर्वानुमानमा गरेको छ । पूर्व सावधानी अपनाउनु र सतर्कताका साथ कार्य गर्नु नै विपद् व्यवस्थापनको मुख्य आधार हो । यसै सन्दर्भमा नेपाल सरकारका सबै मन्त्रालय तथा मातहतका निकायहरुले पछिल्लो २४ घण्टामा विभिन्न निर्देशन, सार्वजनिक सूचना, नागरिक अपिल तथा प्रेष विज्ञप्तिहरु जारि गरि पूर्वतयारीलाई तिव्र बनाइएको छ :
– ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठक बसी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको छ । तीनवटै सुरक्षा निकायले नदी तटिय क्षेत्रमा माइकिंग गरि स्थानीयलाई सचेत गराउदै विपद् प्रतिकार्यका लागी पूर्ण तयारी गरिएको छ ।
– रातीमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दुरीको यात्रा नगर्न तथा सुरक्षित स्थानमा रहन सबैमा आग्रह गर्दछु ।
– राजमार्गका प्रत्येक सुरक्षा जाँच चौकी (चेकपोइन्ट) ले अघिल्लो चेकपोइन्टसँग सम्पर्क गरी सडकखण्ड सुरक्षित रहेको पूर्ण सुनिश्चितता भएपछि मात्र सवारी साधन अघि बढाउने “रोक, पर्ख र हेर” (Stop, Hold and Go) नीति लागु गरिएको छ । जोखिमयुक्त सडकखण्डमा राति सवारि संचालन नगर्न पनि निर्देशन दिइएको छ ।
– सम्भावित बाढी, पहिरो तथा नदी कटानलाई ध्यानमा राखी एक्स्काभेटर, लोडर, डोजरलगायत भारी उपकरण(Heavy Equipment) को पूर्वव्यवस्था गरी जोखिमयुक्त सडकखण्ड नजिक परिचालन गर्ने गरि तयारी राखिएको छ । सबै सडक डिभिजन कार्यालयलाई २४ सै घण्टा सक्रिय रहन तथा सडकको अवस्था (खुला/अवरुद्ध) सम्बन्धी अद्यावधिक सूचना नियमित सार्वजनिक गर्न निर्देशन दिइएको छ।
– हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा (ट्रेकिङ) र पर्वतारोहणमा रहनुभएका आन्तरिक तथा विदेशी पर्यटकलाई आवश्यक परेमा सुरक्षित स्थानमा सार्न सम्बन्धित व्यवसायीलाई समन्वय गर्न तथा होटल व्यवसायी र स्थानीय बासिन्दालाई सुरक्षित बासस्थान र सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ। मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।
– सबै ७५३ स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसी आवश्यक पूर्व तयारी गर्न, जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न साथै सबै प्रमुख प्रशासकिय अधितृतलाई मन्त्रालय संग नियमित सम्पर्कमा रहन भनिएको छ । सार्वजनिक बिदाको अवधिमा पनि राष्ट्रसेवक कर्मचारीलाई आफू सुरक्षित रहँदै सम्भावित विपद् प्रतिकार्यमा तत्पर रहन निर्देशन दिइएको छ।
– सबै विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरि स्थानीय तह संगको समन्वयमा आवश्यकता अनुसार असोज ९ गते विधालयको पठन पाठन संचालन नगर्न तथा यस अवधिमा तोकिएका परिक्षा सम्बन्धित विश्वविधालय र परिक्षा संचालन गर्ने निकायले आवश्यकता अनुसार स्थगित गर्न निर्देशन दिइएको छ।
– अभिभावकहरुलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन विशेष अनुरोध गर्दछु।
– सबै अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई आवश्यक जनशक्ति र औषधी-सामाग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवा निरन्तर संचालन गर्न निर्देशन दिइएको छ । स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र (HEOC) लाई क्रियाशिल अवस्थामा राखिएको छ।
– खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सबै गोदाममा आवश्यक मौज्दात कायम गर्न निर्देशन गरिएको छ । राजमार्ग अवरुद्ध भएमा वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानी गरिनेछ। मौसमको अवस्था देखाउदै कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी वा अनुचित मूल्यवृद्धि गर्ने माथि कडा कारबाही गर्न बजार अनुगमन गर्न निर्देशन गरिएको छ।
– नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा देशभर नागरिकसाई SMS ALERT पठाइएको छ । स्थानीय सञ्चार माध्यममार्फत मौसमसम्बन्धी नियमित अपडेट तथा सावधानीका उपाय निरन्तर प्रसारण गर्न सञ्चार तथा सूचना मन्त्रालयमार्फत निर्देशन दिइएको छ। दूरसञ्चार सेवा अवरुद्ध भएमा तत्काल सुचारु गर्न आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचनालाई आधार मानी सचेत रहन आग्रह गर्दछु। कुनै पनि आपत्कालीन अवस्थामा हेलो सरकार ११११ वा ९८५११४५०४५, हेलो गृह १११२, नेपाल प्रहरी १००, सशस्त्र प्रहरि बल १११४, जिल्ला आपतकालीन कार्य संचालन केन्द्र १२३४, स्वास्थ्य हेल्पलाइन १११५, नजिकको जिल्ला प्रशासन कार्यालय वा सुरक्षा निकायमा सम्पर्क गर्नुहोला। मौसम पूर्वानुमानका लागि ११५५ मा डायल गरि प्राप्त गर्न सकिन्छ।
सावधान रहौँ, सुरक्षित रहौँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *