`

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

Nepal One HD ३ असोज २०८३ १८:०१
राजनीति

सुर्खेत । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन आग्रह गर्दै यस क्षेत्रको विकासबिना मुलुकको पूर्ण विकास सम्भव नहुने बताएका छन् ।कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको ११औँ संविधान तथा राष्ट्रिय एकता दिवस समारोहमा उनले नेपाली जनतालाई संविधानले अधिकारसम्पन्न बनाएको बताउँदै संविधानले सङ्घीयता, समावेशिता, सामाजिक न्याय र समानुपातिकतालाई केन्द्रमा राखेको सुनाए ।

प्रदेश प्रमुख जोशीले संविधानको अक्षरशः पालना र प्रभावकारी कार्यान्वयनका लागि राज्यका सबै अङ्गको सक्रियता आवश्यक रहेकाे बताए । मुख्यमन्त्री मङ्गलबहादुर शाहीले नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट जारी भएको संविधानले नागरिकका सम्पूर्ण अधिकार सुनिश्चित गरेको बताए ।

संविधानको संस्थागत विकासका लागि सबैको हातेमालो आवश्यक रहेको उल्लेख गर्दै उनले नागरिकलाई राज्यको अनुभूति गराउन तीनै तहका सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्व अपरिहार्य रहेको बताए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नेपालको संविधानले सबै जाति, वर्ग, धर्म, लिङ्ग र भाषाका नागरिकलाई समेटेको बताइन् । संविधानले नागरिकका अधिकार सुनिश्चित गर्नुका साथै कर्तव्यप्रति पनि सचेत गराएको उनले उल्लेख गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *