छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकले बजेट शून्यताको अवस्था अन्त्य गर्दै छिटो काम गर्न सरकारलाई आग्रह गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले बजेट निर्माणलाई तीव्रता दिन र बजेटबारे विगतमा उठ्दै आएका प्रश्नलाई सम्बोधन गर्ने गरी काम गर्नसमेत आग्रह गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी, प्रदेशसभा संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा भएको बैठकमा विगतमा सबै दलहरूको सहमतिमा बजेट निर्माणसम्बन्धी बनाइएका मापदण्ड पालना र टुक्रे तथा छरिएका योजनालाई निरुत्साहित गर्ने विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रदेशको आवश्यकता र प्राथमिकताका आधारमा बजेट तथा योजना निर्माण गर्ने, प्रदेशसभा सदस्यहरूले सिफारिस गर्ने योजनासमेत रणनीतिक महत्व र आवश्यकतामा आधारित हुनुपर्नेमा जोड दिइएको थियो ।
प्रदेशको समग्र विकासमा प्रभाव पार्ने रुपान्तरणकारी ठूला तथा प्राथमिकता प्राप्त योजनालाई बजेटमा समेट्ने र टुक्रे योजनाका नाममा हुने बेथिति रोक्ने सबै दल सहमत भएका छन् ।
