जेठी श्रीमतीबारे के भन्छन् हर्क?
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको पारिवारिक जीवनसँग जोडिएको पुरानो अदालतको फैसला सामाजिक सञ्जालमा भाइरल भएपछि उनले त्यसबारे सार्वजनिक स्पष्टीकरण दिएका छन्।
साम्पाङले जेठी पत्नी दिलमाया राईसँग आफू कानुनीरूपमै अलग भइसकेको दाबी गरेका छन्। उनले यो विषय आजभन्दा करिब २० देखि २५ वर्षअघिको भएको र लामो समय पर्खिएपछि दिलमायाकै इच्छाअनुसार अलग भएको बताएका छन्।
तर, सामाजिक सञ्जालमा भाइरल भइरहेको सुनसरी जिल्ला अदालतको फैसलाको विषय भने अंशसम्बन्धी मुद्दासँग जोडिएको देखिन्छ। दिलमायाले २०७३ असोज ६ गते दायर गरेको मुद्दामा न्यायाधीश मणिराम न्यौपानेको इजलासले २०७६ असार १२ गते फैसला गरेको थियो।
फैसलामा हर्कराज राईसहित उनका दाजुहरू आशयकुमार राई र एकराज राई, आमा जसमाया राई तथा धनकुमारी राई गरी पाँच अंशियार कायम गरिएको छ। सगोलको सम्पत्ति पाँच भाग लगाएर हर्कराजको भागबाट दिलमाया र छोरी एलिसासहित तीन भाग लगाई दिलमायालाई एक भाग अंश दिनुपर्ने अदालतको ठहर छ।
दिलमायाले अदालतमा दिएको फिरादपत्रमा वैवाहिक जीवनदेखि नै आफूलाई झैझगडा तथा कुटपिट हुने गरेको र हर्कराजले परस्त्रीसँग सम्बन्ध राखेको आरोप लगाएकी थिइन्। प्रहरीमा उजुरी गरेपछि आफूलाई घरबाट निकालिएको दाबीसमेत उनको फिरादपत्रमा उल्लेख थियो। यी विवरणहरू भने दिलमायाले अदालतमा गरेको दाबी हुन्, अदालतले ती आरोपलाई छुट्टै फौजदारी कसुरका रूपमा पुष्टि गरेको भन्ने विवरण फैसलामा देखिँदैन।
साम्पाङले भने आफूले जेठी श्रीमतीमाथि घरेलु हिंसा नगरेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा फैलिएका आरोपलाई उनले अस्वीकार गर्दै मानिसको आफ्नै विगत हुने बताएका छन्।
कन्टेन्ट क्रिएटरहरूसँगको कुराकानीमा साम्पाङले आफू प्रश्नबाट नभाग्ने बताएका छन्। उनका अनुसार १२ वर्षसम्म पर्खिएपछि पनि पुनर्मिलनको अवस्था नबनेपछि जेठी श्रीमतीकै इच्छाअनुसार आफूहरू अलग भएका हुन्।
छोरी एलिसाको हेरचाह नगरेको भन्दै सामाजिक सञ्जालमा उठेका प्रश्नको पनि उनले खण्डन गरेका छन्। छोरीलाई आफूले पढाएको र विवाह नभएसम्म आफूसँगै राखेर हुर्काएको उनको दाबी छ।
अदालतको पुरानो फैसला अहिले सामाजिक सञ्जालमा चर्चामा आएपछि पारिवारिक सम्बन्ध, अंशसम्बन्धी मुद्दा र साम्पाङको पछिल्लो स्पष्टीकरण एकैपटक बहसमा आएका छन्।
