राप्रपा बागमती अध्यक्षमा जनकराज पाठकको चर्चा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बागमती प्रदेश अध्यक्षमा जनकराज पाठकको चर्चा सुरु भएको छ। आगामी असोज २१ गते हुने प्रदेश अधिवेशन नजिकिँदै जाँदा पाठकको सम्भावित उम्मेदवारीलाई लिएर पार्टीभित्र चासो बढेको हो।
नुवाकोटबाट सक्रिय राजनीति गर्दै आएका पाठकले अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन्। उनी भने सार्वजनिक प्रचारभन्दा आन्तरिक छलफल र गृहकार्यमा केन्द्रित छन्। बागमतीका विभिन्न जिल्लाका अध्यक्ष, क्षेत्रीय तथा प्रदेश तहका नेतृत्वसँग उनले परामर्श गरिरहेको उनीनिकट स्रोतको भनाइ छ।
पार्टीको सिद्धान्त, विचार र राजनीतिक दिशाबारे निरन्तर लेखन तथा सार्वजनिक अभिव्यक्ति दिँदै आएका पाठकलाई राप्रपाभित्र स्पष्ट वक्ताका रूपमा पनि हेरिन्छ। संगठनात्मक प्रतिस्पर्धासँगै पार्टीको वैचारिक पक्षलाई प्राथमिकता दिने नेताका रूपमा उनको परिचय रहेको बताइन्छ।
सम्भावित उम्मेदवारीबारे पाठकले केही दिनभित्र निर्णय गर्ने संकेत गरेका छन्। तत्कालै प्रचारमा लाग्नुभन्दा अधिवेशनको वातावरण र प्रतिनिधिहरूको मनोविज्ञान बुझेर अघि बढ्ने उनको तयारी देखिन्छ।
‘धेरै दिन बाँकी छ, किन चटके जसरी बजारमा कराउँदै हिँड्नु ?’ पाठकले भनेका छन्।
पाठकको प्राथमिकता चुनावी प्रतिस्पर्धाभन्दा सर्वसम्मत नेतृत्व चयनतर्फ रहेको बताइएको छ। पार्टीभित्र मत विभाजन बढाउनुभन्दा सहमतिका आधारमा नेतृत्व चयन गर्न सके संगठन थप बलियो हुने उनको धारणा छ।
बागमती अध्यक्षका लागि वर्तमान अध्यक्ष विक्रम थापा, प्रकाश रिमाल र रवीन्द्र प्रताप शाहको नाम पनि चर्चामा छ। तर, पाठक मैदानमा उत्रिएमा प्रदेशको नेतृत्व प्रतिस्पर्धामा नयाँ समीकरण बन्न सक्ने आकलन गरिएको छ।
राप्रपाले असोज २१ गते सातै प्रदेशमा एकैदिन प्रदेश अधिवेशन गर्दैछ। मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनअघि हुने प्रदेश अधिवेशनलाई पार्टीको आगामी नेतृत्व समीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ। बागमती प्रदेश अधिवेशनको स्थानलाई लिएर भने विवाद कायमै रहेको बताइएको छ।
