संसदमा दुई विधेयक पेस
काठमाडौं । प्रतिनिधिसभामा मंगलबार दुईवटा महत्वपूर्ण विधेयक पेस भएका छन्।
प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ सदनमा पेस गरेका हुन्।
प्रतिरक्षा विश्वविद्यालयसम्बन्धी विधेयक पेस गर्दै मन्त्री गौतमले अन्तर्राष्ट्रिय सम्बन्ध, सामरिक विषय र सुरक्षा मामिलामा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने संस्था निर्माण गर्न विधेयक ल्याइएको बताइन्।
उनका अनुसार बदलिँदो भू-राजनीतिक अवस्था र सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सैनिकसँगै गैरसैनिक अधिकारीलाई समेत देशभित्रै उच्च शिक्षा तथा तालिम उपलब्ध गराउने उद्देश्य विधेयकको छ।
विश्वविद्यालयमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध र सामरिक मामिलामा दक्ष तथा जिम्मेवार स्वदेशी र विदेशी जनशक्ति उत्पादन गर्ने लक्ष्यसमेत राखिएको छ।
यस्तै, पूर्वाधार विकासमन्त्री लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३ प्रस्तुत गरे। यसअघि नै उक्त विधेयकसम्बन्धी व्यवस्था गर्न बनेको मस्यौदा सार्वजनिक भइसकेको थियो।
बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभाबाट आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पनि पेस गरिन्।
