विपद्मा आरोप-प्रत्यारोप होइन, सहकार्य गरौँ : गणेश पराजुली
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद्को समयमा आरोप-प्रत्यारोपभन्दा माथि उठेर सहकार्य गर्नुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपद्मा परेका नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहसँगै प्रतिपक्षी दल तथा नागरिक समाजको समेत एकीकृत प्रयास आवश्यक रहेको बताए।
जलवायु परिवर्तनका कारण बाढी, पहिरो र डुबानजस्ता विपद् बढिरहेको भन्दै पराजुलीले यस्ता घटनालाई सामान्य मौसमी समस्याका रूपमा मात्र हेर्न नहुने बताए। हिमाली क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै जलवायु न्याय र हिमालय संरक्षणलाई अन्तर्राष्ट्रिय सहकार्यसँग जोड्नुपर्ने उनको भनाइ थियो।
पराजुली भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापतिसमेत हुन्। समितिले विपद्को कारण, प्रभाव, राहत तथा पुनर्स्थापनाको अवस्था र भविष्यमा जोखिम न्यूनीकरणका उपायबारे अध्ययन गर्ने कार्यादेश पाएको छ।
त्यस्तै, उनले जलवायु न्यायका विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको आवाजलाई अब ठोस साझेदारी, प्रविधि र स्रोत परिचालनसँग जोड्नुपर्ने बताए।
समितिले विपद्को वैज्ञानिक अध्ययन गरी तथ्यमा आधारित र कार्यान्वयनयोग्य सुझाव दिने पराजुलीले बताएका छन्। प्रभावित नागरिक, सरकारी तथा सुरक्षा निकाय र सम्बन्धित क्षेत्रका विज्ञको अनुभव र प्रमाणलाई अध्ययनको आधार बनाइने उनले बताए।
सुशासनको विषयमा पनि उनले प्रशासनिक प्रणालीलाई विधि र निष्पक्षतामा आधारित बनाउनुपर्ने बताए। साथै, कर्मचारी सरुवामा डिजिटल प्रणाली, अनलाइन सेवा र सार्वजनिक जग्गा संरक्षणजस्ता कामलाई उनले सुशासनतर्फका प्रयासका रूपमा उल्लेख गरे।
चाडपर्व नजिकिँदै गर्दा विपद्मा परेका नागरिकको दुःखमा साथ दिन पनि उनले सबैलाई आग्रह गरे।
