‘जेनजी’ आन्दोलनका नाममा भएको हिंसाले लोकतन्त्र र स्थिरतामाथि प्रहार भयो : सांसद विक
काठमाडौं । नेकपा एमालेकी सांसद विष्णुमाया विकले ‘जेन–जी’ आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाले लोकतान्त्रिक व्यवस्था र राजनीतिक स्थिरतामाथि गम्भीर प्रश्न उठाएको बताएकी छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारमा राजनीतिक इमानदारीको कमी हुँदा जनताले राखेको अपेक्षा पूरा हुन नसकेको आरोप लगाइन्।
विकले पछिल्लो ३५ वर्षको लोकतान्त्रिक अवधिमा मुलुकले पूर्वाधार र विकासका क्षेत्रमा हासिल गरेका उपलब्धिलाई गलत भाष्यमार्फत ओझेलमा पार्ने प्रयास भइरहेको दाबी गरिन्। मध्यपहाडी लोकमार्ग, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना तथा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणजस्ता काम यही अवधिमा अघि बढेको उनले स्मरण गराइन्।
नेपाल विकासशील राष्ट्रको चरणमा प्रवेश गरिरहेका बेला भदौमा भएको आन्दोलनबाट भौतिक संरचना र मानवीय क्षेत्रमा पुगेको क्षतिप्रति उनले दुःख व्यक्त गरिन्।
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो नहुने उनको भनाइ थियो। भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित सुरु भएको भनिएको आन्दोलन कसरी हिंसात्मक अवस्थामा पुग्यो भन्नेबारे गम्भीर प्रश्न उठाउँदै उनले संसद् भवन घेराउ, सार्वजनिक सम्पत्तिमा तोडफोड तथा जनप्रतिनिधिमाथि आक्रमणजस्ता घटनाको उद्देश्यबारे छानबिन आवश्यक रहेको बताइन्।
लोकतन्त्रका लागि संघर्ष गरेका नेतामाथि भएको दुर्व्यवहारको समेत उनले विरोध गरिन्। आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गर्दै विकले वर्तमान सरकारले प्राप्त जनादेशलाई संस्थागत गर्ने इमानदारी देखाउन नसकेको आरोप लगाइन्।
राजनीतिक स्थिरताका लागि दलविरोधी अभियानले थप चुनौती सिर्जना गर्न सक्ने भन्दै उनले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने गतिविधिप्रति सचेत रहन आग्रह गरिन्।
