`

नोभेम्बरमा कता जाँदैछन् बालेन?

Nepal One HD १६ असोज २०८३ ११:४२
बिशेष

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को नोभेम्बर भ्रमण तालिका व्यस्त बन्ने देखिएको छ। भारत भ्रमणको तयारी भइरहेका बेला त्यही महिनामा टर्कीमा हुने जलवायु परिवर्तनसम्बन्धी कोप-३१ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शाहलाई औपचारिक निम्तो आएको छ।

भारत भ्रमणका लागि नेपाल र भारतबीच तयारी अघि बढिरहेको छ। भारतीय पक्षसँग भ्रमणको मिति र एजेन्डाबारे छलफल भइरहेको भए पनि अन्तिम मिति भने तय भइसकेको छैन। परराष्ट्रमन्त्री शिशिर खनालले पनि प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भइरहेको तर मिति निश्चित नभएको बताएका छन्।

उता, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन औपचारिक निम्तो पठाइसकेका छन्। परराष्ट्र मन्त्रालयले निमन्त्रणा प्रधानमन्त्री कार्यालयमा पठाइसकेको जनाएको छ। तर सम्मेलनमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्रीकै नेतृत्वमा हुने वा अन्य तहको टोली जाने भन्ने निर्णय भइसकेको छैन।

कोप–३१ आगामी नोभेम्बर ९ देखि २० गतेसम्म टर्कीको अन्ताल्यामा हुँदैछ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी यो सम्मेलनमा विश्वभरका देशका प्रतिनिधि तथा नेताहरू सहभागी हुनेछन्।

नेपालका लागि यो सम्मेलन जलवायु संकट र त्यसबाट परेको क्षतिको विषय उठाउने महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च हो। हालै संयुक्त राष्ट्रसंघको महासभामा पनि प्रधानमन्त्री शाहले नेपालमा जलवायुजन्य विपद्का कारण परेको क्षति र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताबारे धारणा राखेका थिए।

नेपालले विगतका कोप सम्मेलनमा उच्च तहको प्रतिनिधित्व गर्दै आएको छ। कोप–२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली टोली सहभागी भएको थियो भने कोप–३० मा तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले नेपालको प्रतिनिधित्व गरेका थिए।

यसपटक भने प्रधानमन्त्रीको सम्भावित भारत भ्रमण र कोप–३१ को मिति एउटै महिनामा परेकाले भ्रमण तालिका व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ।

भारत भ्रमणको तयारी नोभेम्बरको उत्तरार्धमा गर्ने गरी अघि बढिरहेको विवरण सार्वजनिक भएका छन्। केही स्रोतले नोभेम्बरको तेस्रो साता भ्रमणको तयारी भइरहेको बताएका छन्। तर मिति औपचारिक रूपमा टुंगिएको छैन।

त्यसैले प्रधानमन्त्री शाहले भारत भ्रमण र कोप–३१ मध्ये कुन कार्यक्रममा आफैं सहभागी हुने भन्ने प्रश्नभन्दा पनि दुवै कार्यक्रमलाई कसरी तालिका मिलाएर अघि बढाउने भन्ने विषय अहिले सरकारका लागि महत्वपूर्ण बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *