पौडी खेल्ने क्रममा बेगनास तालमा डुबेर एक युवकको मृ त्यु
कास्की, १७ असोज : पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी खेल्ने क्रममा आज साँझ एक युवकको डुबेर मृत्यु भएको छ ।
सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्दै आएका अन्दाजी २४/२५ वर्षीय नरेश विकको तालमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति वसन्तबहादुर सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार विक तालमा बेपत्ता भएको खबर प्राप्त भएपछि कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमाण्डमा गोताखोरसहित ११ जनाको टोली खोज तथा उद्धारका लागि साँझ ५ः५५ बजे घटनास्थलतर्फ परिचालन भएको थियो ।
गोताखोर सशस्त्र प्रहरी जवान देवराज खनाल र युवराज श्रेष्ठले साँझ ७ः०० बेगनास तालमा खोजी गर्ने क्रममा करिब २५ फिट पानीमुनिबाट विकलाई मृत अवस्थमा उद्धार गरेका थिए । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
