`

रास्वपाले आफ्नै स्थायी कार्यालय खोज्ने, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन गर्ने निर्णय

Nepal One HD १८ असोज २०८३ ९:०६
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठनदेखि पार्टीको स्थायी कार्यालय खोज्नेसम्मका निर्णय गरेको छ।

सभापति रवि लामिछानेको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकले संगठन सुदृढीकरणका लागि असोज २० देखि २७ गतेसम्म देशव्यापी ‘हामी आउँदैछौँ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अभियानअन्तर्गत पार्टीका सांसद र केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लाका ७५३ पालिकामा परिचालन गरिनेछ।

त्यस्तै, १४ वटा केन्द्रीय विभागमा पदाधिकारी तथा सदस्य मनोनयन गर्ने, मधेश प्रदेशको विवाद समाधानका लागि आवश्यक कदम चाल्ने र काठमाडौं उपत्यकामा पार्टीको स्थायी कार्यालय स्थापनाका लागि घर वा जग्गा खोज्ने निर्णय पनि बैठकले गरेको छ।

सरकारमा पार्टीको ६ महिनाको सहभागिता सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै रास्वपाले विकास निर्माण र सुशासनलाई थप तीव्र बनाउनुपर्नेमा जोड दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *