`

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

Nepal One HD १८ असोज २०८३ २१:३९
समाचार

खोटाङ । जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै सडक मर्मत गरी यातायातका साधन सञ्चालनयोग्य बनाउन आग्रह गरेको छ । समितिले नजिकिँदै गरेको दसैँ, तिहार तथा छट पर्वमा यात्रुलाई आवागमनमा सहजता पुर्याउनका लागि सबै सडक यातायात सञ्चालनयोग्य बनाउन स्थानीय तह र सम्बन्धित कार्यालयले आवश्यक व्यवस्थापन गर्ने/गराउने निर्णय गरेको हो ।

मध्यपहाडी लोकमार्गबाहेक सबै ग्रामीण सडक कच्ची अवस्थामा रहेकाले वर्षा हुनासाथ अवरुद्ध बन्ने गरेका छन् । १० स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तहको वडा–वडामा ग्रामीण सडक पुगे पनि कालोपत्र नहुँदा दिउँद्को समयमा करिब ६ महिना मात्र यातायातका साधन सञ्चालन हुने गरेका छन् ।

जिल्लामा निर्माण गरिएका ग्रामीण सडकलाई तत्काल मर्मत गरेर दसैँअघि नियमित सञ्चालनमा ल्याएमा धेरै जिल्लावासीले राहत महसुस गर्ने भएकाले सम्बन्धित निकायले मर्मत गर्ने/गराउने निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जानकारी दिए।

“आफ्नो क्षेत्रको सडक निर्माण, मर्मत तथा सञ्चालनमा ल्याउने जिम्मेवारी सम्बन्धित पालिको हो । यसमा हामी पनि समन्वय गर्ने काम गर्छौँ”, उनले भने, “चाडपर्व मान्न आफ्नो गाउँ आएका कुनै पनि व्यक्तिले दुःख पाउनुभएन । अवरुद्ध सडक सञ्चालनमा ल्याउन प्रशासनको तर्फबाट सक्दो सहयोग उपलब्ध हुनेछ।”

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-हलेसी-जयरामघाट खण्डलाई २४सै घण्टा सञ्चालनमा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको प्रजिअ गुरुङले जानकारी दिए। उक्त खण्ड खोटाङसहित छिमेकी जिल्ला भोजपुरका स्थानीयले समेत प्रयोग गर्दै आएकाले सडक मर्मतसम्भारका लागि मध्यपहाडी लोकमार्ग आयोजना, सडक डिभिजन कार्यालय हर्कपुर, गाईघाट-दिक्तेल सडक आयोजना र सम्बन्धित पालिकाले समन्वय तथा आवश्यक सामग्रीसहित व्यवस्थापन गर्ने/गराउने निर्णय गरिएको छ।

प्रशासनद्वारा आयोजित विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाको विभिन्न पालिकामा निजी आवास पुनःनिर्माण तथा प्रवलीकरणका लागि प्राप्त भएको दोस्रो किस्तावापतको रकम अनुमोदन गर्ने निर्णय गरेको छ । निजी आवास पुनःनिर्माण तथा प्रवलीकरणका लागि दोस्रो किस्तावापत रु तीन लाख ४० हजार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ का सुविन श्रेष्ठ र कुमार श्रेष्ठलाई वितरण भएकाले अनुमोदन गरिएको प्रजिअ गुरुङले जानकारी दिए।

त्यस्तै, गत साउन १५ र २५ गते तथा भदौ १ गते आएको अविरल वर्षाका कारण क्रमशः दिक्तेल रुपाकोट मझुवागढी-२ सोल्मा, वडा नं १० पाथेका र वडा नं ११ खार्मीका सडकमा लगाइएको तटबन्धमा क्षति पुर्याएकाले मर्मतका लागि बजेट व्यवस्थापन गर्न कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गरिएको सिफारिसलाई अनुमोदन गरिएको छ। जिल्लामा हुनसक्ने विपद्का घटनाको प्रतिकार्यका लागि जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पक्षको सहभागितामा व्यवहारिक अभ्यास गर्ने निर्णय गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *