`

घटस्थापनासँगै बडादशैं सुरु, हनुमानढोकामा राखियो जमरा

Nepal One HD २५ असोज २०८३ १३:३०
फोटोफिचर

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ। दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ।

घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरेर माटोमा जौ, मकै, गहुँलगायत अन्न छर्ने र जमरा उमार्ने परम्परा छ। यससँगै घरघरमा नवदुर्गाको पूजा–आराधना सुरु हुन्छ। दशैंका नौ दिन देवी दुर्गाको उपासना गरिने भएकाले घटस्थापनालाई पर्वको महत्त्वपूर्ण सुरुवाती दिनका रूपमा लिइन्छ।

हनुमानढोकाको दशैंघरमा राखिएको जमरा विजयादशमीका दिन टीकासँगै प्रसादका रूपमा ग्रहण गरिन्छ। दशैंको मुख्य दिन मानिने विजयादशमीमा परिवारका सदस्य तथा मान्यजनबाट रातो टीका र जमरा लगाएर आशीर्वाद लिने चलन छ।

घटस्थापनादेखि सुरु हुने धार्मिक अनुष्ठानसँगै नेपाली घरपरिवारमा दशैंको उल्लास छाउने गर्दछ। नवदुर्गाको आराधना, पारिवारिक भेटघाट र मान्यजनको हातबाट टीका–जमरा ग्रहण गर्ने परम्पराले बडादशैंलाई धार्मिक तथा सांस्कृतिक रूपमा विशेष बनाएको छ।


 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *