गार्गी अनि गार्गीका प्रश्न
काठमाडौं। सृष्टिको आधार के हो? सम्पूर्ण ब्रह्माण्डलाई धारण गर्ने शक्ति कुन हो? हजारौँ वर्षअघि यस्ता जटिल प्रश्नमाथि बहस गर्ने साहस राख्ने गार्गी वाचक्नवी आज पनि ज्ञान, तर्क र निर्भीकताको प्रतीकका रूपमा स्मरण गरिन्छिन्।
प्रश्न गर्नु सामान्य कुरा हो। यसैपनि मानिसभित्र तमाम् प्रश्नहरू क्षणभर निर्माण हुन्छन् अनि क्षण भरमै समाप्त पनि हुन्छन्। प्रश्न यसर्थपर्नी महत्वपूर्ण छ, प्रश्नले स्थापित मान्यतालाई चुनौती दिन्छ र ज्ञानको सीमासम्म पुग्न खोज्छ भने त्यसको महत्त्व असाधारण हुन्छ।
सनातनिय इतिहासमा गार्गी वाचक्नवी यस्तै प्रश्न गर्ने व्यक्तित्व थिइन्। उनले आफ्ना जिज्ञासामार्फत तत्कालीन विद्वत् परम्परामा आफ्नो विशिष्ट स्थान बनाएकी थिइन्।
मिथिलाका राजा जनकको राजसभामा याज्ञवल्क्यसँग भएको उनको शास्त्रार्थ यसको उल्लेखनीय उदाहरण हो। सामान्य जिज्ञासाबाट सुरु भएको संवाद क्रमशः सृष्टिको उत्पत्ति, अस्तित्वको आधार र अविनाशी तत्त्वको खोजीसम्म पुगेको थियो। गार्गीका प्रश्नले याज्ञवल्क्यजस्ता प्रख्यात दार्शनिकलाई समेत गम्भीर जवाफ दिनुपर्ने अवस्थामा पुर्याएका थिए।
प्राचीन पुरात्वयिक साहित्यमा महिलाको बौद्धिक योगदानबारे चर्चा गर्दा सूर्या सावित्री र गार्गी वाचक्नवीलाई फरक सन्दर्भमा सम्झन सकिन्छ। सूर्या सावित्रीसँग सम्बन्धित विवाह सूक्त वैदिक साहित्यमा महत्त्वपूर्ण मानिन्छ। यसले तत्कालीन विवाह परम्परा र सामाजिक जीवनबारे अध्ययन गर्न आधार प्रदान गर्छ।
गार्गीको व्यक्तित्व भने मुख्यतः दार्शनिक विमर्शसँग जोडिएको छ। वैदिक मन्त्र रचनाको परम्परापछि ब्रह्म, आत्मा र जगत्को स्वरूपबारे गम्भीर बहस भइरहेको समयमा उनको बौद्धिक उपस्थिति देखिन्छ। त्यसबेलाको दार्शनिक बहसमा याज्ञवल्क्य प्रमुख व्यक्तित्वमध्ये एक थिए।
यही बौद्धिक वातावरणमा गार्गीले आफ्नो तर्कशक्ति प्रस्तुत गरिन्। पुरुष विद्वान्हरूको वर्चस्व रहेको राजसभामा उनले निर्भीकतापूर्वक प्रश्न उठाउनु आफैँमा उल्लेखनीय थियो।
को थिइन् गार्गी वाचक्नवी?
गार्गीको जीवनबारे विस्तृत जानकारी उपलब्ध छैन। यद्यपि उनको व्यक्तित्व र दार्शनिक क्षमताबारे जान्ने प्रमुख आधार बृहदारण्यक उपनिषद्मा उल्लेख गरिएको छ। यस ग्रन्थको तेस्रो अध्यायमा राजा जनकको सभामा याज्ञवल्क्यसँग भएको उनको संवाद वर्णन गरिएको छ।
बृहदारण्यक उपनिषद् मा वर्णित पहिलो संवादमा गार्गीले पदार्थ र तत्त्वहरूको आधार खोज्दै प्रश्न अघि बढाएकी छन्।
उनको जिज्ञासा पानी कहाँ समाहित हुन्छ भन्ने प्रश्नबाट सुरु हुन्छ। याज्ञवल्क्यले पानी वायुमा समाहित हुने बताउँछन्। त्यसपछि गार्गीले वायुको आधार के हो भनेर सोध्छिन्। उत्तरमा अन्तरिक्षको चर्चा आउँछ।
गार्गी प्रत्येक उत्तरमा सन्तुष्ट भएर रोकिन्नन्। एउटा तत्त्वको आधार बताएपछि अर्को तत्त्वको आधार के हो भन्ने प्रश्न उठाउँदै जान्छिन्। संवादमा गन्धर्वलोक, आदित्यलोक, चन्द्रलोक, नक्षत्रलोक, देवलोक, इन्द्रलोक, प्रजापतिलोक र ब्रह्मलोकसम्मका प्रसङ्ग आउँछन्।
अन्ततः उनी ब्रह्मलोकको आधारबारे प्रश्न गर्छिन्।
यही बिन्दुमा संवाद तनावपूर्ण बन्छ। याज्ञवल्क्यले उनलाई थप प्रश्न नगर्न चेतावनी दिन्छन्। उपनिषद्मा उनको चेतावनीलाई गार्गीको टाउको फुट्न सक्ने अभिव्यक्तिका रूपमा प्रस्तुत गरिएको छ।
यो प्रसङ्गले गार्गीको जिज्ञासा कति टाढासम्म पुगेको थियो भन्ने देखाउँछ। उनी कुनै एउटा प्राकृतिक तत्त्व वा लोकको व्याख्यामा सीमित थिइनन्। उनको खोज समग्र अस्तित्वको अन्तिम आधारसम्म पुग्न चाहन्थ्यो।
तर यस संवादलाई याज्ञवल्क्यको पराजय वा गार्गीको विजयका रूपमा हेर्नु पर्याप्त हुँदैन। यसको महत्त्व उनीहरूले उठाएका प्रश्न र ती प्रश्नले दार्शनिक चिन्तनलाई पुर्याएको गहिराइमा छ।
पहिलो संवादपछि गार्गी फेरि याज्ञवल्क्यसँग प्रश्न गर्न अघि सर्छिन्। यसपटक उनी आफ्नो प्रश्न गर्ने तयारीलाई धनुषमा बाण चढाएर निशाना लगाउन तयार योद्धासँग तुलना गर्छिन्।
याज्ञवल्क्यले पनि उनलाई प्रश्न गर्न अनुमति दिन्छन्।
गार्गीले आकाशभन्दा माथि, पृथ्वीभन्दा तल र यी दुईबीच रहेका सम्पूर्ण वस्तु केमा ओतप्रोत छन् भनेर सोध्छिन्। विगतमा भइसकेका र भविष्यमा हुन बाँकी रहेका सबै कुरा कुन आधारमा टिकेका छन् भन्ने उनको अर्को जिज्ञासा हुन्छ।
यी प्रश्न भौतिक संसारको संरचनामा मात्र सीमित थिएनन्। तिनको केन्द्रमा सम्पूर्ण अस्तित्वलाई एकसाथ धारण गर्ने तत्त्वको खोज थियो।
याज्ञवल्क्यले यसको उत्तरमा ‘अक्षर’ अर्थात् अविनाशी तत्त्वको व्याख्या गर्छन्। उनका अनुसार देखिने संसार र समयको प्रवाहमा रहेका सम्पूर्ण वस्तुको आधार त्यही नाश नहुने तत्त्व हो।
उपनिषद्को दार्शनिक चिन्तनमा अक्षरलाई बुझ्नु ब्रह्मज्ञानसँग सम्बन्धित विषय हो। याज्ञवल्क्यले यस तत्त्वको ज्ञानबिना धार्मिक कर्मकाण्डको गहिरो आध्यात्मिक अर्थ बुझ्न नसकिने आशय पनि प्रस्तुत गर्छन्।
यसपटक गार्गीले उत्तर स्वीकार गर्छिन्। उनले सभामा उपस्थित विद्वान्हरूलाई याज्ञवल्क्यको विद्वत्ता स्वीकार गर्न र उनीसँगको शास्त्रार्थमा विजयको आशा नराख्न आग्रह गर्छिन्।
गार्गीको व्यक्तित्वको सबैभन्दा महत्त्वपूर्ण पक्ष उनको प्रश्न गर्ने साहसमा मात्र सीमित छैन। आफूलाई चित्त बुझ्ने उत्तर प्राप्त भएपछि त्यसलाई स्वीकार गर्ने क्षमता पनि उत्तिकै उल्लेखनीय छ।
शास्त्रार्थमा सहभागी हुनुको उद्देश्य प्रतिद्वन्द्वीलाई जसरी पनि हराउनु होइन। विचारको परीक्षण गर्नु, तर्कको सीमा पहिचान गर्नु र प्रमाण वा व्याख्याका आधारमा निष्कर्षमा पुग्नु बौद्धिक बहसका आधार हुन्। गार्गीको दोस्रो संवादले यही गुणलाई उजागर गर्छ।
उनले याज्ञवल्क्यका उत्तरलाई चुनौती दिइन्, थप स्पष्टीकरण खोजिन् र अन्ततः आफ्नो निष्कर्ष सार्वजनिक गरिन्। यस प्रक्रियामा आत्मविश्वाससँगै बौद्धिक विनम्रता पनि देखिन्छ।
यही कारण गार्गीलाई प्रश्न उठाउने विदुषीका रूपमा मात्र सीमित गर्न मिल्दैन। उनी प्रश्न, तर्क, संवाद र स्वीकारोक्तिलाई ज्ञानको यात्राका अभिन्न पक्षका रूपमा प्रस्तुत गर्ने दार्शनिक व्यक्तित्व हुन्।
