सडक बन्द भएपछि आरुघाटमा यात्रुको बिजोग [तस्वीरहरू]
गोरखा । सडक अवरुद्ध भएपछि गृहजिल्ला फर्किंदै गरेका सर्वसाधारण गोरखाको आरुघाटमा अलपत्र परेका छन्। गाडी चल्न नसकेपछि उनीहरू हेलिकप्टरबाट गाउँ पुग्न पाइने आशामा आरुघाटको घरिलचौरमा पर्खिरहेका छन्।
आरुघाट गाउँपालिका–३ को छेपारे भन्ने स्थानबाट अगाडिको सडक पूर्ण रूपमा अवरुद्ध भएपछि यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। काठमाडौंलगायत विभिन्न स्थानबाट घर फर्किएका यात्रु सडक बन्द हुँदा बीच बाटोमै रोकिएका हुन्।
सडक खुल्ने टुंगो नलागेपछि केही यात्रु हेलिकप्टरबाट उद्धार हुने आशामा घरिलचौरमा बसिरहेका छन्। तर, हालसम्म त्यहाँ रोकिएका यात्रुलाई हेलिकप्टरमार्फत गन्तव्यसम्म पुर्याइएको छैन।
यता, नेपाली सेनाले भने प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गर्ने र बाढीमा फसेका व्यक्तिको उद्धार गर्ने काम गरिरहेको छ। सडक अवरुद्ध हुँदा घर फर्किन नपाएका सर्वसाधारण भने आफ्नो गाउँ पुग्ने प्रतीक्षामा छन्।
















