भक्तपुर दरबार स्क्वायरमा तस्वीर खिच्दै चिनियाँ पर्यटकहरु [फोटो-फिचर]
काठमाडौं। भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा बाढीपहिरोको प्रभाव देखिए पनि नेपालको पर्यटन क्षेत्रमा विदेशी पर्यटकको आकर्षण घटेको छैन।
काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय स्थलमा पर्यटकको चहलपहल उल्लेख्य देखिँदा सन् २०२६ को सेप्टेम्बरमा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या पनि बढेको छ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल आएका छन्। यो सङ्ख्या सन् २०२५ को सोही महिनामा आएका ७८ हजार ७११ पर्यटकको तुलनामा १२.१ प्रतिशत बढी हो।
देश तथा क्षेत्रअनुसारको तथ्याङ्कले भने नेपालको पर्यटन बजारमा एसियाली मुलुकको योगदान बढ्दै गएको र पश्चिमी बजारको अवस्था तुलनात्मक रूपमा खुम्चिएको सङ्केत गरेको छ। सेप्टेम्बरमा नेपाल आएका पर्यटकमध्ये सबैभन्दा ठूलो हिस्सा दक्षिण एसियाली क्षेत्रको रहेको छ।
सार्क राष्ट्रबाट मात्रै ३० हजार ८५ पर्यटक नेपाल आएका छन्। यो कुल आगमनको ३४.०९ प्रतिशत हो। अघिल्लो वर्षको तुलनामा यस क्षेत्रबाट आउने पर्यटकको सङ्ख्या २३.९ प्रतिशतले बढेको छ। सार्क मुलुकमध्ये भारत सबैभन्दा ठूलो स्रोत बजार बनेको छ। सेप्टेम्बरमा १७ हजार ४२५ भारतीय नागरिक नेपाल आएका छन्, जुन कुल पर्यटक आगमनको १९.७५ प्रतिशत हो। भारतीय पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढेको छ।
श्रीलङ्का र बङ्गलादेशबाट आउने पर्यटकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। यस अवधिमा श्रीलङ्काबाट सात हजार १०८ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशत बढी हो। बङ्गलादेशबाट तीन हजार ९६४ पर्यटक नेपाल आएका छन्। यो सङ्ख्या ३१.५ प्रतिशतले बढेको हो। भुटानबाट एक हजार १११ र पाकिस्तानबाट ४२९ पर्यटक आएका छन्।
सार्कबाहेकका अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा अझ ठूलो वृद्धि देखिएको छ। यस क्षेत्रबाट सेप्टेम्बरमा १९ हजार ८८८ पर्यटक नेपाल आएका छन्। कुल आगमनमा २२.५४ प्रतिशत हिस्सा ओगट्ने यस बजारको पर्यटक सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५८ प्रतिशतले बढेको हो।
यस वृद्धिमा चीनको योगदान प्रमुख देखिएको छ। सेप्टेम्बर २०२६ मा चीनबाट ११ हजार २१२ पर्यटक नेपाल आएका छन्। सन् २०२५ को सेप्टेम्बरमा पाँच हजार २३७ चिनियाँ पर्यटक आएकामा यस वर्षको सङ्ख्या ११४.१ प्रतिशतले बढेको हो। अर्थात्, एक वर्षमै चीनबाट आउने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ।
अन्य एसियाली मुलुकमध्ये जापानबाट दुई हजार ६६, मलेसियाबाट एक हजार ८७७ र दक्षिण कोरियाबाट एक हजार ४१२ पर्यटक आएका छन्। अघिल्लो वर्षको तुलनामा जापानी पर्यटक ४५.४ प्रतिशत, मलेसियाली पर्यटक १२.२ प्रतिशत र दक्षिण कोरियाली पर्यटक ४.३ प्रतिशतले बढेका छन्। तर, थाइल्यान्ड र भियतनामबाट आउने पर्यटकको सङ्ख्या भने करिब ११ प्रतिशतले घटेको छ।
समग्र तथ्याङ्कले प्राकृतिक विपद्का घटनाबीच पनि नेपालमा विदेशी पर्यटक आगमन बढिरहेको देखाएको छ।
विशेषगरी भारत, चीन र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा भएको वृद्धिले नेपालको पर्यटन बजारमा क्षेत्रीय मुलुकको भूमिका थप बलियो बन्दै गएको छ।













