नागरिकले प्रहरीलाई संरक्षकका रूपमा अनुभूति गर्ने वातावरण बनाउन मुख्यमन्त्रीको निर्देशन
काठमाडौं ।बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका रूपमा अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न निर्देशन दिएका छन् ।
एकहत्तरौँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री थापा मगरले प्रहरी र नागरिकबीचको सम्बन्ध विश्वास, सहकार्य र पारस्परिक सम्मानमा आधारित हुनुपर्ने बताए ।
नेपालको संविधान र प्रचलित कानुनको पालना गर्दै राष्ट्र तथा नागरिकको सुरक्षा, शान्ति सुव्यवस्था कायम र अपराध नियन्त्रणमा नेपाल प्रहरीले पुर्याएको योगदानको प्रशंसा गर्दै उनले प्रहरीको भूमिकाको सम्मान गरे ।
मुख्यमन्त्री थापा मगरले शान्ति, सुरक्षा र कानुनी शासनलाई मुलुकको विकास, समृद्धि तथा सुशासनको आधारका रूपमा व्याख्या गरे । नागरिकले आफ्नो घरपरिवार, व्यवसाय, पेसा र दैनिक जीवन सुरक्षित रूपमा सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको आधारभूत दायित्व भएको उनको भनाइ थियो ।
त्यस्तै, उनले अपराध अनुसन्धान, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, मानव बेचबिखन नियन्त्रण, लागूऔषध नियन्त्रण, साइबर अपराधको अनुसन्धान र सार्वजनिक सम्पत्तिको संरक्षणमा नेपाल प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकको अधिकारको संरक्षण र कानुनको निष्पक्ष कार्यान्वयन प्रहरी सङ्गठनको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै उनले प्रहरीप्रतिको जनविश्वास नै सङ्गठनको सबैभन्दा ठूलो शक्ति भएको बताए ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले देश र जनताको सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरी सङ्गठन निरन्तर क्रियाशील रहेको बताए ।
त्यसैगरी, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले नागरिकले विभिन्न समस्यामा सबैभन्दा पहिले प्रहरी र प्रशासनलाई सम्झने गरेको उल्लेख गरे । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताइन् ।
कार्यक्रममा अमर प्रहरीका सन्तति तथा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा वरिष्ठ पत्रकार प्रताप विष्टलगायत रहेका थिए ।
साथै, प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउँदै जनविश्वास अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ ।
