`

इलाममा धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या, आरोपी फरार

Nepal One HD १ कार्तिक २०८३ ११:३०
अपराध

काठमाडौं। इलामको रोङ गाउँपालिका-३, पात्लेडाँडामा एक पुरुषको हत्या भएको छ। स्थानीय ५५ वर्षीय कमल परियार आफ्नै घरको बरण्डामा मृत फेला परेका हुन्।

प्रहरीका अनुसार परियारको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो हतियारले प्रहार गरिएको अवस्थामा शव फेला परेको थियो।

शनिबार बिहान साढे ८ बजे स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राख्दै अनुसन्धान अघि बढाएको छ।

घटनास्थलबाट एउटा धारिलो हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा कमल परियार विगत चार वर्षदेखि घरमा एक्लै बस्दै आएको खुलेको छ।

हत्यामा संलग्न व्यक्ति भने हालसम्म फरार छन्। प्रहरीले फरार व्यक्तिको खोजी तीव्र बनाउनुका साथै घटनाको कारण र संलग्न व्यक्तिबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *