दसैँको उपहार : भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
चितवन। दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन । वर्षौंदेखि आफू बसोबास गर्दै आएको जमिनबाट कतै हट्नुपर्ने हो कि भन्ने चिन्ता बोकेर जीवन बिताएका उनीहरूका लागि यसपटकको दसैँ खुसीसँगै सुरक्षित भविष्यको आशा लिएर आएको छ।
रातो खोलभित्र राखिएको प्रमाणपुर्जामा आफ्नो नाम र तस्बिर देख्दा उनीहरूका लागि त्यो कागज मात्रै थिएन । वर्षौंदेखि बसोबास गर्दै आएको जमिनमा आफ्नो अधिकार स्थापित भएको अनुभूति थियो । कतिबेला आफू बसेको ठाउँबाट हट्नुपर्ने हो भन्ने चिन्ता बोकेर जीवन बिताएका उनीहरूका लागि यसपटकको दसैँमा खुसीसँगै सुरक्षाको अनुभूति पनि थपिएको छ ।
इच्छाकामना गाउँपालिका–७ का ७१ वर्षीय पूर्णबहादुर प्रजा वर्षौंदेखि बसोबास गर्दै आएको २५८ वर्गमिटर आवास क्षेत्र र खेतीपाती गर्दै आएको २३४ वर्गमिटर बारी आफ्नै नाममा भएपछि दङ्ग थिए। जग्गाधनी प्रमाणपुर्जा हातमा लिँदा उनको खुसीको सीमा थिएन । उनले भने, “पुर्खाले नपाएको यो पुर्जा मैले पाएँ ।”
धेरैले वर्षौंदेखि आश्वासन दिँदै आएको कुरा वास्तविकतामा परिणत हुँदा उनलाई सपना पूरा भएजस्तै लागेको थियो। आफूलाई जग्गाको मालिक बनाउने प्रक्रियामा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले भने, “जय होस् सरकारको । धन्यवाद सरकार, यस्तै सरकार भइरहोस् ।” आफ्नो खुसी कसरी व्यक्त गर्ने भन्ने नै थाहा नभएजस्तो गर्दै उनले भने, “मलाई त आज हाँसिरहन पाे मन छ !”
पूर्णबहादुरको खुसीसँगै २४ वर्षीया मनिला तामाङको अनुहारमा पनि आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएको चमक थियो । विवाह भएको केही वर्ष भइसकेको र सानो बच्चासमेत रहेकाले उनका लागि जग्गाको स्वामित्व आफ्नो सुरक्षासँगै सन्तानको भविष्यसँग जोडिएको छ ।
उनले भनिन्, “मैले त पहिलोपटक पुर्जा देखेको छु, रातो पुर्जा पाएको छु । अब ढुक्क भएको जस्तो लागेको छ । हाम्रो जग्गा अब नम्बरी भयो ।” आफ्नै नाममा जग्गा भएपछि अब कसैले आफूलाई त्यहाँबाट हट्न भन्न नसक्ने विश्वास पलाएको छ । उनले थपिन्, “अब कसैले यो मेरो हो, उठेर जा भन्न सक्दैन । अब हामी पनि मालिक भइयो ।”
