`

गङ्गालाल हस्पिटलमा बुबाको जीवन बचाउन गरेको सङ्घर्ष !

अशोक सुकुमार  ९ कार्तिक २०८३ १२:०५
जीवनशैली/स्वास्थ्य

काठमाडौं। २०८३ असोज १६ गतेको दिन थियो। म र मेरो भाइ ट्युसन पढाउन कोठाबाहिर थियौँ। बहिनी एलिसा विद्यालय गएकी थिई। आमा कान्छी बहिनी त्रिलोचनालाई लिएर सुदूरपश्चिमको बैतडीस्थित खैरकाेट सिलाजु मामाघर जानुभएको थियो। 

समय करिब अपराह्न ४:४० बजेतिरको थियो। बुबा रात्रिकालीन ड्युटी सकेर फर्किएपछि दिउँसो सुत्नुभएको थियो। साँझपख मुख धोएर कोठाभित्र पस्दै गर्दा बुबालाई अचानक हृदयघातजस्तो गम्भीर स्वास्थ्य समस्या भएछ। त्यतिबेला घरमा कोही हुनुहुन्नथ्यो। बुबा एक्लै हुनुहुन्थ्यो। शरीरकाे दुवै खुट्टा नचल्ने भएकाे रहेछ र आवाजसमेत ननिस्किने अवस्था भयो। तैपनि बुबाले हिम्मत हार्नुभएन। सकी-नसकी बल गर्दै, घिस्रिँदै ढोकासम्म पुग्नुभयो र अलिअलि औँला चलाउँदै बल गरेर इसाराले पल्लो कोठामा बस्ने आन्टीलाई बोलाउनुभयो।

आन्टीले बुबाको अवस्था देखेपछि तुरुन्तै सम्हाल्नुभयो र काममा जाँदै गर्नुभएका आफ्ना श्रीमान्लाई फोन गरेर खबर गर्नुभयो। सूचना पाउनेबित्तिकै काकाले बाटोबाटै ट्याक्सी बोलाएर बुबालाई सोझै सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक कक्षमा पुर्‍याउनुभयो। यसैबीच मलाई पनि फोनमार्फत बुबाको अवस्थाबारे खबर आयो। खबर सुन्नासाथ मेरो सातो उड्यो। म अत्तालिँदै साथी सुदीप महतरासँग पठाओमार्फत गङ्गालाल अस्पतालतर्फ दौडिएँ।

त्यसपछि सुरु भयो- अस्पतालको दौडधुप, विभिन्न परीक्षण र रिपोर्टको प्रतीक्षा।

सुरुका ती कठिन दुई दिन साथीहरू सुदीप, सुरेन्द्र र अनिस अस्पतालमै कुरुवा बसे। उनीहरू रातभर जागेर मलाई साथ र सहारा दिइरहे। सुरुमा गरिएका ईसीजी, इको र सिटी स्क्यानका रिपोर्ट सामान्य नै आएका थिए। त्यसैले मनमा कतै न कतै आशा थियो- बुबालाई केही गम्भीर समस्या नहोला, उपचारपछि निको भएर घर फर्किनुहोला।

तर पछि कार्डियाक एमआरआई गर्दा बुबालाई मुटुको मांसपेशीसँग सम्बन्धित गम्भीर र दुर्लभ वंशानुगत रोग एआरभीसी भएको पत्ता लाग्यो। एक दिन डाक्टर राउन्डिङमा आउनुभयो। उहाँले बिरामीको मान्छे को हो भनेर सोध्नुभयो। म अगाडि गएँ। त्यसपछि उहाँले मलाई छेउमा लगेर एमआरआईमा देखिएको समस्याबारे बताउनुभयो। उपचारका लागि करिब सातदेखि आठ लाख रुपैयाँ लाग्ने र अवस्था निकै गाह्रो रहेको बताउँदै उहाँले भन्नुभयो, ‘गर्ने नगर्ने तपाईंको हातमा छ।’

डाक्टरका यी शब्द सुनेपछि म केहीबेर एकोहोरो भएँ। बुबाको उपचार र विभिन्न परीक्षणमा यसअघि नै ५०-६० हजार रुपैयाँजति खर्च भइसकेको थियो। अब एकैपटक सात-आठ लाख रुपैयाँ जुटाउनुपर्ने कुरा सुन्दा मेरो होसहवास उडेजस्तै भयो। बैंक खातामा एक सुका पैसा बचत थिएन। घरको आर्थिक अवस्था पनि अत्यन्त कमजोर थियो। त्यसमाथि बुबालाई लागेको रोग गम्भीर रहेछ भन्ने थाहा पाएपछि मन झन् आत्तियो।

मैले डाक्टरलाई भनेँ, ‘सर, हाम्रो आर्थिक अवस्था निकै कमजोर छ। केही छुट गरिदिनु न।’ उहाँले कडा स्वरमा भन्नुभयो, ‘भाइ, तिमी उपचार गराउन आएका हौ, म जागिर खान आएको हुँ।’ मैले फेरि भनेँ, ‘सर, हामी विपन्न छौँ।’

उहाँले जवाफ दिनुभयो, ‘मलाई के थाहा तिमी विपन्न हौ कि होइनौ! त्यो तिम्रो काम हो। मलाई भनेर हुन्छ?’

मसँग त्यसपछि बोल्ने शब्द नै बाँकी रहेनन्। बाहिरबाट आँखामा आँसु देखाउन सकिनँ, तर भित्रभित्रै हृदय रोइरहेको थियो। डाक्टरका अगाडि आँखा झुकाएर एकोहोरो उभिइरहेँ। मनमा अनेक कुरा खेलिरहेका थिए। एकछिन त त्यहीँ भक्कानिएर रोऊँजस्तो लाग्यो। तर सँगै भाइ थियो, बेडमा बुबा हुनुहुन्थ्यो। मैले आफूलाई सम्हाल्नैपर्थ्यो।

त्यसपछि केहीबेर गङ्गालाल अस्पतालभित्रको बगैँचामा गएर रोएँ। सायद त्यो क्षण मेरो जीवनकै सबैभन्दा असहाय क्षणहरूमध्ये एक थियो। बुबाको जीवन बचाउनुपर्ने जिम्मेवारी मेरो काँधमा थियो, तर हातमा पैसा थिएन। मनमा बुबालाई बचाउने दृढ इच्छा थियो, तर कसरी बचाउने भन्ने बाटो देखिरहेको थिइनँ।

केहीबेर रोएपछि आँसु पुछेँ। मनलाई सम्हालेँ। मुटु दह्रो बनाएँ। अब रुँदैमा केही हुँदैन, बुबाको उपचारका लागि जसरी भए पनि पैसा जुटाउनुपर्छ भन्ने सोचेर फोन घुमाउन थालेँ।

कसैले भर्खरै आफूले जग्गा किनेको सुनाए। कसैले अरू कसैलाई ऋण दिएको बताए। कसैले ‘अलि अगाडि नै भनेको भए हुन्थ्यो नि’ भने। कतिपयबाट अनेक गुनासा सुन्नुपर्‍यो। आफ्नै आफन्तबाट पनि ‘पुलिस वा आर्मीको जागिर खानुपर्थ्यो नि, समयमै’ भन्नेजस्ता टिप्पणी आए। तर कसलाई थाहा हुन्छ र, जीवनमा कुन बेला कस्तो सङ्कट आइपर्छ? बुबाको जीवन बचाउन आर्थिक सहयोग जुटाउनुपर्ने यस्तो कठिन परिस्थिति आउला भन्ने मैले पनि सोचेको थिइनँ।

यी सबै कुरा सुन्दा मनमा पीडा त हुन्थ्यो नै। तर मसँग कसैका गुनासा सुन्दै बस्ने फुर्सद थिएन। त्यसपछि म फेरि जनरल वार्डभित्र पसेँ। बुबाको नजिकै गएँ र उहाँलाई सुमसुम्याएँ। बुबाको अवस्था हेर्दा मन झन् भारी हुन्थ्यो। तर आफूलाई सम्हाल्दै अब जे गर्नुपर्ने हो, त्यही गर्न थालेँ। बुबाको फोटो खिचेँ र आफ्नो अवस्था, पीडा तथा उपचारका लागि आवश्यक सहयोगबारे लेखेर फेसबुकमा पोस्ट गरेँ।

पोस्टमा सयौँ मानिसले लाइक गरे। कमेन्टमा ‘गेट वेल सुन’ लेखे। बुबाको शीघ्र स्वास्थ्यलाभको कामना गरे। ती शुभकामना देख्दा मनमा केही आशा पलाउँथ्यो। तर लाइक र कमेन्ट आइरहेका थिए, आर्थिक सहयोग भने अपेक्षाअनुसार जुटिरहेको थिएन। बुबाको उपचारका लागि पैसा तत्काल आवश्यक थियो। त्यसैले म निराश भएर बस्न सकिनँ।

त्यही कठिन समयमा मैले कवि अनुप उप्रेती भाइलाई फोन गरेँ। उहाँसँग मेरो चिनजान आस्लुनको एउटा कविता वाचन कार्यक्रममा भएको थियो। उहाँ प्रज्ञा महाकाव्यका रचनाकार हुनुहुन्छ। फोनमा आफ्नो अवस्थाबारे बताएपछि भाइले मलाई सम्झाउँदै भन्नुभयो, ‘नआत्तिनुस् दाइ, हामी छौँ।’

त्यस्तै, सुलभ अधिकारी दाइले पनि सकेको सहयोग गर्दै फेसबुकमा मेरो पोस्ट सम्प्रेषण गर्नुभयो। व्यक्तिगत सन्देशमार्फत मलाई नआत्तिन र धैर्य गर्न सुझाव दिनुभयो। सुशील आचार्यजीसँग पनि कुरा भयो। उहाँ आस्लुन संस्थाका अध्यक्ष हुनुहुन्थ्यो। उहाँको स्वभाव जोसिलो, हँसिलो र मिजासिलो थियो। मलाई उहाँ मृदुभाषी र मिलनसार लाग्थ्यो। उहाँले मलाई हौसला दिनुभयो र सहयोग जुटाउन विभिन्न ठाउँमा पहल गर्ने बताउनुभयो। उहाँहरूको साथ र भरोसाले मलाई निकै हौसला मिल्यो। मनमा फेरि केही आशा पलायो-सायद अब बुबाको उपचारका लागि आवश्यक रकम जुटाउन सकिन्छ।

त्यस्तै अरू केही साथीहरू पनि थिए। कहिलेकाहीँ भेट हुने, बोलचाल भइरहने साथीहरूले पनि सान्त्वना दिँदै सहयोग गर्ने आशा दिलाएका थिए। तर पछि उनीहरू आफ्नै काममा व्यस्त भए। मनमा लाग्थ्यो, साथी त हुन्, फेरि एकपटक फोन गर्दा के नै बिग्रन्छ र? त्यसैले म आफैँले फेरि फोन गर्थेँ। तर सबैबाट अपेक्षाअनुसार साथ पाउन सकिनँ। यद्यपि सबै मानिस उस्तै कहाँ हुन्छन् र!

भोलिपल्ट अनुप भाइ मलाई भेट्न अस्पतालमै आउनुभयो। उहाँले सम्झाउँदै भन्नुभयो, ‘दाइ, नआत्तिनुस्। मैले सक्ने व्यक्तिहरूसँग पनि कुरा गर्छु।’ त्यसपछि उहाँले मेरो हातमा पाँच हजार रुपैयाँ थमाउनुभयो। त्यो रकम मेरा लागि केवल पाँच हजार रुपैयाँ थिएन। त्यो मेरो पीडाको घडीमा प्राप्त भएको ठूलो भरोसा थियो।

त्यसै क्रममा नवीन ठगुन्नाजीले फोनमार्फत हौसला दिँदै आफूले सकेको सहयोग गर्ने बताउनुभयो। अर्को दिन उहाँ गोविन्द विष्ट दाइसँगै मलाई भेट्न आउनुभयो। भेटमा सान्त्वना दिएपछि उहाँहरू आफ्नो बासस्थानतिर फर्किनुभयो। त्यसको अर्को दिन नवीनजीले मेरो बैंकको क्यूआरमार्फत तीन हजार रुपैयाँ पठाउनुभयो। उहाँको त्यो सहयोगले मलाई थप हौसला दियो।

सुशील आचार्यजीले पनि विभिन्न ठाउँमा सम्पर्क गरेर सङ्घसंस्थामार्फत सहयोग जुटाउन पहल गर्नुभयो। फेसबुकमा मेरो पोस्ट सेयर हुन थाल्यो। क्यूआर कोडमार्फत पनि कसैले एक हजार, कसैले पाँच सय रुपैयाँ पठाउन थाले। मैले राखेको पोस्ट करिब २६ हजार भ्युजसम्म पुगेको थियो। 

म हरेकपटक बैंक खातामा रकम जम्मा भएको सूचना आउँदा आशाको एउटा सानो किरण देख्थेँ। रकम सानो होस् वा ठूलो, त्यो पठाउने मानिसको मनमा मेरो बुबाप्रतिको सद्भाव र मेरो पीडाप्रतिको संवेदना जोडिएको हुन्थ्यो। मलाई ती सबै सहयोग अमूल्य लाग्थे। तर सङ्कट अझै टरेको थिएन। 

अर्को दिन बिहान करिब साढे नौ बजेतिर डाक्टर जनरल वार्डको २२५ नम्बर बेडमा राउन्डिङका लागि आउनुभयो। म फेरि उहाँको नजिक गएँ र भनेँ, ‘सर, पैसाको निकै खाँचो छ। केही आर्थिक सहयोग वा सहुलियत गर्न सकिन्छ भने गरिदिनुहोस् न। हाम्रो अवस्था निकै गाह्रो भयो।’ उहाँले आँखामा आँखा जुधाएर कडा स्वरमा भन्नुभयो, ‘कतिचाेटि भन्नुपर्छ? बुझ्दैनौ कि सुन्दैनौ?’

म केही बोल्न सकिनँ। उहाँ आफ्नो बाटो लाग्नुभयो। त्यो क्षण पनि मनभित्र पीडाको ठूलो भारी बोकेर उभिइरहेँ। तर अब मलाई गुनासो गरिरहने छुट थिएन। बुबाको जीवन बचाउनुपर्ने जिम्मेवारी फेरि मेरो अगाडि उभिएको थियो। म चुपचाप पैसाको बन्दोबस्त गर्नतर्फ लागेँ।

धेरै प्रयासपछि ओल्लोपल्लो घरका भाइबाट करिब चार लाख रुपैयाँ जुटाएँ। त्यो रकम जुटाउन पनि झन्डै एक हप्ता लाग्यो। एकातिर बुबाको ज्यान जोखिममा रहेको डाक्टरको भनाइ थियो, अर्कोतिर पैसा जुटाउनुपर्ने बाध्यता। समय बितिरहेको थियो, मनमा डर बढिरहेको थियो।

साथीभाइबाट पनि करिब एक लाख रुपैयाँ जुट्यो। त्यही क्रममा मेरो बैंक खातामा कसैको सहयोग आएको सूचना देखेँ। नाम थियो-लोकेन्द्रबहादुर बोहरा। उहाँ मेरो काका हुनुहुन्थ्यो। तोलगडामा बस्नुहुने काकाले मलाई केही नभनी मेरो सहयोगको अपिल फेसबुकमा सेयर गर्नुभएको रहेछ। उहाँले आर्थिक सहयोग गर्नुभएको कुरा मलाई त्यतिबेला थाहा थिएन। उहाँको नाममा रकम आएको देखेपछि मनमा कृतज्ञताको भाव जाग्यो।

मैले काकालाई म्यासेज गरेँ र आफ्नो अवस्था तथा सहयोगको आवश्यकताबारे लेखिदिन अनुरोध गरेँ। सायद उहाँले लेखेर सेयर गरिदिनुभयो भने अरू मानिसको मन पनि छोइएला र कसैले सहयोग गर्ला भन्ने आशा थियो।

त्यसपछि उहाँले फेसबुकमा लेख्नुभएको शब्द पढेँ।

उहाँले लेख्नुभएको थियो, ‘पत्थरका भित्ताहरूमा नाम खोपेर अमर बन्ने होडबाजीभन्दा, मृत्युको दोसाँधमा छट्पटाइरहेका एउटा जीवित मानिसको सासमा सास थपिदिनु नै जीवनको सबैभन्दा ठूलो पुण्य हो। मन्दिर र भित्तामा टाँसिने अक्षरहरूभन्दा कसैको गुम्न लागेको मुस्कान र जीवन जोगाउँदा मिल्ने आशीष धेरै अनमोल हुन्छ। आज एउटा जीवन मृत्युसँग लडिरहेको छ, जसलाई हामी सबैको सानो सहयोग र सद्भावको आवश्यकता छ। आउनुहोस्, मन्दिरका इँटाहरू होइन, कसैको ढुकढुकी जोड्ने यो पवित्र अभियानमा हातमा हात मिलाऔँ। आफूले सकेको सानोभन्दा सानो सहयोग गरेर एउटा अमूल्य जीवन बचाऔँ। विशेष गरी मेरा शिखर-११ बासी सम्पूर्ण आदरणीय दाजुभाइ, दिदीबहिनी तथा नगरवासीलाई यस मानवीय धर्म र महान् कर्ममा जोडिन हार्दिक अपिल गर्दछु। हाम्रा साना प्रयासहरू उहाँका लागि जीवनको नयाँ बिहानी बन्न सक्छन्। आउनुहोस्, मन फराकिलो बनाऔँ र मानवीय सेवाको यो महायज्ञमा आफ्नो तर्फबाट सहयोगको हात बढाऔँ।’

काकाले लेख्नुभएका ती शब्द पढ्दै गर्दा मेरा आँखा रसाए। आँसु टिलपिल गरिरहेका थिए। आँखाहरू बारम्बार चलमलाइरहेका थिए। त्यो केवल एउटा पोस्ट थिएन; त्यो मेरो असहाय अवस्थालाई बुझेर कसैले मेरो पीडालाई आफ्नै ठानेको अनुभूति थियो। बुबाको जीवन बचाउने अभियानमा उहाँले देखाउनुभएको आत्मीयता र मानवीय संवेदनाले मेरो मन छोयो।

त्यही समयमा धनगढीबाट मेराे कुल घरानाको एक शिक्षित तथा भद्र काका गाेविन्द बहादुर बाेहराले सकेको सहयोग गरी नआत्तिन हौसला दिइरहनुभएकाे थियाे। उता महाराजगञ्जबाट मामा भुपेन्द्रसिंह धामीले मलाई निरन्तर सान्त्वना दिई बेलाबेलामा गंगालाल हस्पिटलमा भेट्न आइरहनुभएको थियो। उहाँले हौसला दिँदै यो कठिन समयमा धैर्य गर्न सम्झाइरहनुभएको थियो।

त्यस्तै, मामामार्फत मावली पक्षका आफन्त तथा विभिन्न ठाउँमा सहयोगका लागि अपिल गरियो। फेसबुकमार्फत अर्को मामाका छोरा, मेरा दाइ तेजबहादुर धामीले पनि बेङ्गलोरबाट सहयोग जुटाउन थाल्नुभयो। उहाँले विभिन्न व्यक्तिसँग सानो-सानो रकम सङ्कलन गर्दै मेरो पोस्टमा मलाई ट्याग गरेर सहयोगका लागि अपिल गर्नुभयो।

यसरी बिस्तारै सहयोगका हातहरू थपिँदै गए। कसैले प्रत्यक्ष रकम दिए, कसैले अरूलाई सहयोग गर्न आग्रह गरे, कसैले पोस्ट सेयर गरे, कसैले सान्त्वना दिए। कसैको सहयोग आर्थिक रूपमा ठूलो थियो, कसैको सानो। तर त्यस कठिन समयमा मलाई हौसला दिने हरेक शब्द र सहयोगको हरेक प्रयास महत्त्वपूर्ण थियो।

उता अस्पतालमा बुबाको हेरचाह पनि नियमित गर्नुपर्थ्यो। उहाँलाई समयमै खाना दिने, तातोपानी दिने, शौच गराउने र आवश्यक कुरामा सहयोग गर्ने काम चलिरहन्थ्यो। बुबासँगै बस्ने भएकाले उहाँको हेरचाहमा मेरो ध्यान केन्द्रित हुन्थ्यो।

जनरल वार्डमा अरू बिरामीका कुरुवाहरू जसरी नै म पनि बुबाको बेडछेउमा सुत्न बनाइएको ठाउँमा सुत्थेँ। चाउचाउको पेटीलाई आधार बनाएर, ज्याकेटलाई सिरानी बनाएर रात काट्थेँ। रात कसरी बित्थ्यो, थाहा हुँदैनथ्यो। मनमा बुबाको चिन्ता, दिमागमा पैसाको हिसाब र भोलि के गर्ने भन्ने प्रश्न मात्र घुमिरहन्थ्यो। फेरि बिहान हुन्थ्यो। उठेर बुबालाई शौच गराउँथेँ, तातोपानी दिन्थेँ र नास्ता गराउँथेँ। उहाँको आवश्यक हेरचाह गरेपछि केहीबेर बाहिर निस्कन्थेँ। बाहिर निस्कनुको उद्देश्य पनि उही हुन्थ्यो- कसरी पैसा जुटाउने, कसलाई फोन गर्ने र कसको सहयोग लिन सकिन्छ भन्ने।

एक बिहान बाहिर निस्किएको बेला फोन आयो। फोन गर्ने व्यक्तिको नाम देखेँ-कपिल बस्नेत।

उहाँ मेरो पुरानो साथी हुनुहुन्थ्यो। हाम्रो कुराकानी नभएको करिब दुई वर्ष भइसकेको थियो। यसबीचमा उहाँ नेपाली सेनामा अमलदारका रूपमा कार्यरत हुनुहुन्थ्यो। फोन उठाएँ। उहाँले सोध्नुभयो, ‘साथी, तिमीलाई के-कस्तो छ?”

मैले बुबाको अवस्थादेखि उपचारमा लागेको खर्च र पैसाको अभावसम्म सबै कुरा बताएँ। उहाँले मलाई सम्झाउनुभयो, ‘सबै ठीक हुन्छ, चिन्ता नगर।’ त्यसको केहीबेरपछि उहाँले मेरो बैंक खातामा छ हजार रुपैयाँ पठाउनुभयो।

करिब दुई वर्षदेखि कुराकानी नभएको साथीले मेरो दुःख सुनेर यसरी सहयोग गर्दा मन छोयो। त्यो रकमले मलाई आर्थिक सहयोग मात्र गरेन, कठिन समयमा पुराना सम्बन्धहरू पनि कति अर्थपूर्ण हुन सक्छन् भन्ने अनुभूति गरायो।

त्यस्तै फेसबुकमा राखेको क्यूआर कोडमार्फत पनि कसैले एक हजार, कसैले पाँच सय रुपैयाँ पठाइरहेका थिए। ती साना–साना रकम जम्मा हुँदै जाँदा उपचारका लागि आवश्यक खर्च जुटाउन केही सहज भयो। सबै खर्च सहयोगबाट मात्र जुटाउन सम्भव थिएन। त्यसैले बाँकी रकमका लागि मेरा काका र जेठा बुबाबाट ऋण लिएँ। विभिन्न ठाउँबाट रकमको बन्दोबस्त गरेपछि बल्ल बुबाको उपचार अघि बढाउन सक्ने अवस्था बन्यो।

अन्ततः घटस्थापनाको दिन डाक्टरहरूको टोलीले बुबाको मुटुमा एआईसीडी प्रत्यारोपण गर्‍यो। उपचारमा संलग्न चिकित्सकहरूमा डा. मुरारी ढुङ्गाना, डा. रविन्द्र पाण्डे, डा. पारस कोइराला, डा. रोशन श्रेष्ठ र डा. सन्जिता अन्सारी हुनुहुन्थ्यो। त्यस दिन बुबाको उपचारको एउटा महत्त्वपूर्ण चरण पूरा भयो। त्यसका लागि आवश्यक रकम जुटाउन मैले कति सङ्घर्ष गर्नुपरेको थियो भन्ने कुरा सम्झँदा आज पनि मन भारी हुन्छ।

त्यो समय मेरो जीवनको एउटा यस्तो अध्याय थियो, जहाँ हरेक दिन नयाँ परीक्षा लिएर आउँथ्यो। एकातिर बुबाको जीवन बचाउने चिन्ता, अर्कोतिर आर्थिक अभाव, तेस्रोतिर मानिसहरूबाट आउने आश्वासन, सान्त्वना, सहयोग र कहिलेकाहीँ निराशा। सबै कुरा एकैसाथ सहनुपरेको थियो।

कहिलेकाहीँ लाग्थ्यो, अब सक्दिनँ होला। तर बुबाको अनुहार हेर्थेँ र फेरि आफूलाई सम्हाल्थेँ। उहाँलाई बचाउन मैले हार मान्नु हुँदैन भन्ने लाग्थ्यो। म जेठो छोरा थिएँ। यस्तो कठिन समयमा बुबाको उपचारका लागि सक्दो प्रयास गर्नु मेरो परम जिम्मेवारी थियो।

मैले त्यसबेला एउटा कुरा गहिरोसँग अनुभव गरेँ- मानिसको वास्तविक परीक्षा सुखका दिनमा होइन, दुःखका दिनमा हुँदोरहेछ। अप्ठ्यारो पर्दा सबैले साथ दिन सक्दैनन्। कसैले परिस्थितिका कारण साथ दिन नसक्ला, कसैले आफ्नै बाध्यताका कारण सहयोग गर्न नसक्ला। त्यसलाई बुझ्न पनि सिक्नुपर्ने रहेछ। तर आफ्नो क्षमताअनुसार साथ दिने मानिसहरूको महत्त्व भने जीवनभर बिर्सन नसकिने रहेछ।

अनुप उप्रेती भाइले प्रत्यक्ष भेटेर दिनुभएको पाँच हजार रुपैयाँ, सुशील आचार्यजीले सहयोग जुटाउन गर्नुभएको पहल, नवीन ठगुन्नाजीले दिनुभएको हौसला र आर्थिक सहयोग, गोविन्द विष्ट दाइसँगै अस्पतालमा भेट्न आउनुभएको आत्मीयता, लोकेन्द्रबहादुर बोहरा काकाले देखाउनुभएको मानवीय संवेदना, मामा भुपेन्द्रसिंह धामीले दिनुभएको हौसला, तेजबहादुर धामी दाइले बेङ्गलोरबाट गर्नुभएको सहयोगको प्रयास र दुई वर्षपछि सम्पर्कमा आएर छ हजार रुपैयाँ पठाउने कपिल बस्नेत साथी-  यी सबै मेरा लागि केवल नाम होइनन्। यी मेरो जीवनको कठिन समयमा सम्झनामा बस्ने मानवीय सम्बन्धका उदाहरण हुन्।

त्यसैगरी, आफ्नो नामसमेत नखुलाई क्यूआर कोडमार्फत सानो-सानो रकम पठाउने सबै सहयोगीप्रति पनि म हृदयदेखि कृतज्ञ छु। उहाँहरूलाई व्यक्तिगत रूपमा चिन्न नपाएको हुन सक्छ, तर उहाँहरूले गर्नुभएको सहयोगको महत्त्व मैले कहिल्यै बिर्सने छैन। मलाई त्यसबेला पैसाको आवश्यकता थियो, तर पैसासँगै हौसला, आत्मीयता र भरोसाको पनि उत्तिकै खाँचो थियो। कसैले दिएको थोरै रकमले औषधि किन्न सहयोग गर्थ्यो, कसैले बोलेका दुई शब्दले मन सम्हाल्न मद्दत गर्थ्यो। कसैले मेरो पोस्ट सेयर गरिदिँदा अर्को सहयोगी भेटिने आशा जाग्थ्यो।

ती दिनहरू सम्झँदा आज पनि मन भारी हुन्छ। बुबाको उपचारका लागि अस्पतालमा बिताएका ती दिन, बगैँचामा एक्लै रोएको त्यो क्षण, डाक्टरका अगाडि निःशब्द बनेर उभिएको अवस्था र पैसाको बन्दोबस्त गर्न रातदिन गरेको दौडधुप मेरो मनमा गहिरोसँग बसेका छन्। यो यात्रामा जसले जे-जति गर्नुभयो, उहाँहरूप्रति म हृदयदेखि आभारी छु। सहयोग ठूलो वा सानो भन्ने कुरा मेरा लागि महत्त्वपूर्ण छैन। महत्त्वपूर्ण त त्यो कठिन समयमा कसैले मेरो पीडालाई आफ्नो ठानेर हात अघि बढाउनुभयो भन्ने कुरा हो।

बुबाको जीवन बचाउन गरिएको त्यो सङ्घर्षले मलाई जीवन, सम्बन्ध र मानवीयताको अर्थ अझ नजिकबाट बुझायो। मैले भोगेको त्यो समय सजिलो थिएन, तर त्यसले मलाई धेरै कुरा सिकायो। दुःखको घडीमा प्राप्त भएको सानो सहयोगले पनि मानिसको जीवनमा कति ठूलो अर्थ राख्न सक्छ भन्ने कुरा मैले आफ्नै जीवनमा अनुभव गरेँ। आज पनि म ती सबै सहयोगी हात, आत्मीय शब्द र सद्भावलाई सम्मानका साथ सम्झन्छु। उहाँहरूले गर्नुभएको सहयोग केवल रकममा सीमित थिएन; त्यो मेरो परिवारका लागि कठिन समय पार गर्ने हिम्मत र आशाको आधारसमेत थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *