`

विवादित अडियोमा खगेन्द्र सुनारको इन्कारी, प्राविधिक परीक्षण गर्दै रास्वपा

Nepal One HD ९ कार्तिक २०८३ १४:१४
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गर्दै पार्टीको अनुशासन आयोगमा लिखित इन्कारी पत्र बुझाएका छन् ।

सुनार र एक महिलाबीच भएको भनिएको संवाद सार्वजनिक भएपछि पार्टीले गठन गरेको छानबिन समितिले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान अघि बढाएको हो । समितिका उपप्रमुख तथा छानबिन संयोजक अधिवक्ता हरिचन्द्र भट्टराईले सुनारको लिखित जवाफ प्राप्त भएको जानकारी दिएका छन् ।

सुनारले सार्वजनिक भएको अडियो कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरेर तयार पारिएको दाबी गर्दै आएका छन् । प्रहरीमा भएको भ्रष्टाचारको विषय उठाएपछि आफूलाई लक्षित गरेर प्रहार भइरहेको उनको जिकिर छ । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक आरोपहरू झुटा भएको र अडियो प्रविधिको दुरुपयोग गरेर बनाइएको दाबीसमेत गरेका थिए ।

सुनारले आरोप अस्वीकार गरेपछि छानबिन समितिले उपलब्ध प्रमाणको परीक्षणमा जोड दिएको छ । समितिले विवादित अडियो प्रसारण गरेको जनआस्था पत्रिकासँग सम्पादन हुनुअघिको अडियो प्राप्त गरिसकेको छ । त्यस्तै, पीडित भनिएकी महिलाको अन्तर्वार्ताका रूपमा प्रसारित अडियो उपलब्ध गराउन न्युज २४ लाई पत्राचार गरिएको छ ।

त्यस्तै, छानबिन संयोजक भट्टराईले अडियोको आन्तरिक परीक्षण गरिने र आवश्यक परे प्राविधिक जाँचका लागि सम्बन्धित निकायको सहयोग लिइने बताएका छन् । प्राविधिक परीक्षणपछि सुनारसँग सोधपुछ गर्ने समितिको तयारी छ ।

अडियोको प्राविधिक परीक्षणमा लाग्ने समयले छानबिनको अवधि निर्धारण गर्ने समितिको भनाइ छ । सुनारको इन्कारी पत्र र महिलाको अन्तर्वार्तामा व्यक्त विचारका कारण अनुसन्धानमा जटिलता थपिएको पनि समितिले जनाएको छ ।

विवादित अडियो सार्वजनिक भएपछि रास्वपाले घटनाबारे आन्तरिक छानबिन गर्न अनुशासन आयोगलाई निर्देशन दिएको थियो । छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिइएको थियो ।

साथै, समितिले अहिले अडियोको प्रामाणिकता परीक्षण र अन्य प्रमाणको विश्लेषणलाई प्राथमिकता दिएको छ । प्राविधिक जाँच तथा अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा मात्रै घटनाबारे निष्कर्षमा पुग्ने तयारी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *