च्यातिएका मन जोडिरहेको नेपाल क्रिकेट
काठमाडौं। यतिबेला हामी एनपीएलको सम्मुखमा छौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का सबै स्याङ्क्सन, डिसिजन रिभ्यु सिस्टम (डीआरएस) र अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित नामहरूले तेस्रो संस्करणको एनपीएलको ब्रान्ड भ्यालुलाई विशेष बनाएको छ।
आठ फ्रेन्चाइजी सहभागी रहेको एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो। त्यस्तै, दोस्रो सिजनको ट्रफी लुम्बिनी लायन्सले आफ्नो पोल्टामा पार्यो। पहिलो र दोस्रो दुवै संस्करणको उपविजेता भने सुदूरपश्चिम रोयल्स बन्यो।
नेपाली क्रिकेटको इतिहास त्यति लामो छैन। सन् १९९६ मा आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले त्यसपछिका यी ३० वर्षमा थुप्रै उतारचढाव देखेको छ। एउटा सामान्य टोलीबाट एसोसिएट्स टोली, त्यसबाट डिभिजन-५, लिग-२ हुँदै अगाडि बढेको नेपालले सन् २०१४ मा आफ्नो पहिलो विश्वकप खेलेको थियो। स्मरणीय कुरा के भने, उक्त विश्वकप खेल्ने बेलासम्म नेपालको आफ्नो कुनै फ्रेन्चाइजी लिग थिएन।
२०१४ को विश्वकप खेलेपछि नेपालले आईसीसीको प्रतिबन्ध भोग्नुपर्यो। क्रिकेट एसोसिएसन नेपाल (क्यान) भित्रको शक्ति संघर्ष र आर्थिक अनियमितताले आईसीसीले नेपालमाथि प्रतिबन्ध लगाइदियो। यसका बाबजुद पनि राष्ट्रिय टोलीका खेलाडीको अनवरत त्याग, तपस्या र कठोर संघर्षले नेपालले सन् २०१८ मा एकदिवसीय टोलीको मान्यता प्राप्त गर्न सफल भयो।
त्यसयता भने नेपाली क्रिकेट आफ्नै लय र गतिमा हिँडिरहेको छ। तर, यतिबेलासम्म पनि क्यानले आफ्नै क्रिकेट लिग सञ्चालन गर्न सकिरहेको अवस्था थिएन। धनगढी प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिगलगायतका फ्रेन्चाइजी लिगहरू सञ्चालनमा आए पनि ती क्यानका लिग थिएनन्। आईसीसीको निलम्बनका कारण क्यानले आफ्नै लिग सञ्चालन गर्न सकिरहेको थिएन। जसले खेलाडीहरूलाई व्यावसायिक त बनाउन सहयोग गरेको थियो, तर क्रिकेट नेपाललाई नयाँ युगमा प्रवेश गराउन भने सकिरहेका थिएनन्।
एकातिर नेपाल क्रिकेटको खस्किँदो लय, अर्कोतिर टी-२० क्रिकेटको विकासका निमित्त क्यानले कुनै योजना सार्वजनिक गर्न सकिरहेको थिएन। वर्ष थियो– २०२४। नेपाल १० वर्षपछि टी-२० विश्वकपका लागि छनोट भयो। र, यही वर्ष क्यानले पहिलो संस्करणको एनपीएल सफलतापूर्वक सम्पन्न गर्यो। पहिलो संस्करणको एनपीएलमै चर्चित अन्तर्राष्ट्रिय खेलाडीको उपस्थितिले लिगलाई विश्वस्तरमा लैजान महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो।
अहिले हामी तेस्रो संस्करणको एनपीएलको सम्मुखमा छौँ। क्रिकेट जगत् मात्र नभएर सिंगो देश नै एनपीएलका लागि उत्साहित र गौरवान्वित छ। स्मरणीय कुरा भनेको पछिल्ला केही वर्षहरूमा देशमा क्रिकेट यस्तो खेल बनेको छ, जसले घाउमा मलम लगाइदिन्छ, भत्केका मनहरू जोड्ने सेतु बनिदिन्छ र बिथोलिएका-उछित्तिएका जनहरूलाई खुसी दिन्छ। क्रिकेट क्रिकेट मात्रै भएको छैन, यसले भत्केका पर्खालहरू जोडिरहेको छ। यसकारण पनि एनपीएल नेपालीहरूका लागि विशेष बनेको छ।
अहिलेसम्म फाफ डु प्लेसिस, मार्टिन गप्टिल, शिखर धवन, रवि बोपारा, जिम्मी निशमजस्ता विश्वप्रसिद्ध क्रिकेटरहरूले एनपीएलमा सहभागिता जनाइसकेका छन्। तेस्रो संस्करणसम्म आइपुग्दा यी नाममा अरू ठूला विश्वविख्यात नामहरू जोडिने क्रम जारी छ। यसपालि आन्द्रे रसेल, शेरफेन रदरफोर्ड, डेभिड मिलर, इफ्तिखार अहमद, हसन अली, शाकिब अल हसनलगायतका विश्व क्रिकेटका हस्तीहरू एनपीएलसँग जोडिँदै छन्। यसले एनपीएल मात्र नभएर समग्र नेपाली क्रिकेटको गरिमा उच्च बनाउनेछ।
तेस्रो संस्करणसम्म आइपुग्दा एनपीएलले आफ्नै छुट्टै ब्रान्ड भ्यालु क्रिएट गर्न सफल भएको छ। अब एनपीएल समग्रतामा व्यावसायिक बन्नेछ। होटल व्यवसाय र पर्यटन व्यवसायमा एनपीएलले छुट्टै प्रभाव निर्माण गर्नेछ।
आर्थिक कारोबारका हिसाबले पनि एनपीएल दिनप्रतिदिन ठूलो बन्दै गइरहेको छ। तेस्रो संस्करणमा क्यानले तीन करोड बराबरको पुरस्कार राशि घोषणा गरेको छ। अर्कोतिर, कुनै बेला चाउचाउ, चना र अण्डा खाएर क्रिकेट खेलेका नेपाली क्रिकेट खेलाडीहरूको आर्थिक हैसियत पनि एनपीएलले बदलिदिएको छ। अब एनपीएलमार्फत नेपाली खेलाडीहरू खेल खेलेरै देशको चाहेको सहरमा आफ्नै घर, गाडीसहित विलासी जिन्दगी बाँच्न पाउनेछन्। यो नेपाली क्रिकेटको अर्को ठूलो उपलब्धि हो। त्योभन्दा पनि नेपालमै क्रिकेट खेलेर राम्रो जिन्दगी बाँच्न सकिन्छ भन्ने विश्वास निर्माण गर्न सक्नु यसको सबैभन्दा ठूलो उपलब्धि हो।
समग्रमा भन्दा क्रिकेट नेपालीहरूको हाँसो, रोदन, मनोरञ्जन र खुसीको कारण बनिरहेको छ। नेपालीहरूले वर्षौंदेखि क्रिकेटलाई भावना मान्दै आइरहेका छन्। देश हारेको बेला क्रिकेटले जिताउँछ भन्ने विश्वास प्रत्येक नेपालीको भावना हो। र, नेपाली क्रिकेटले विभिन्न समयमा त्यो विश्वास कायम गर्न सफल पनि भएको छ।
क्रिकेटले फरक-फरक समाज, समुदाय, धर्म, जात र संस्कृतिको जगेर्ना गरिरहेको छ। अझ भनौँ, नेपाली क्रिकेट यो देशका लागि यस्तो माध्यम हो, जसले च्यातिएका मनहरू जोड्छ, उध्रिएका सपना सिउन मद्दत गर्छ र मुर्झाएका तथा सुस्ताएका पाइलाहरू जोड्छ।नेपाल क्रिकेटको करिब ३० वर्षको यो योगदानमा यसपालिको एनपीएलको पनि भव्य योगदान रहनेछ।
