`

३७ जुवाडे पक्राउ ,९ लाखभन्दा बढी नगद बरामद

Nepal One HD १० कार्तिक २०८३ ११:२९
समाचार

काठमाडौं। प्रहरीले देशका चार जिल्लामा जुवातास खेलिरहेको अवस्थामा ३७ जनालाई पक्राउ गरेको छ।

सुनसरी, भक्तपुर, कैलाली र अछाममा आइतबार तथा आइतबार राति गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट ९ लाख ६४ हजार ७८० रुपैयाँ नगद र तासका बुकसमेत बरामद गरेको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–४ शान्ति चोकस्थित द स्टंन होटलमा जुवातास खेलिरहेको अवस्थामा इटहरी–१ का ३७ वर्षीय मोहन घिमिरेसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका वडा प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले आइतबार साँझ उनीहरूलाई ४ लाख ५६ हजार १८० रुपैयाँ नगद र सात बुक ताससहित पक्राउ गरेको हो।

त्यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिका–४ हलचापस्थित ५४ वर्षीय धुर्व श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित १४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरूलाई २ लाख ९० हजार ७० रुपैयाँ नगद र तीन बुक ताससहित नियन्त्रणमा लिएको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीस्थित ४५ वर्षीय हरि दयाल रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा रानासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले आइतबार दिउँसो उनीहरूलाई ४९ हजार पाँच रुपैयाँ नगदसहित पक्राउ गरेको जनाएको छ।

यसैगरी, अछामको मंगलसेन नगरपालिका–५ मंगलसेन बजारस्थित ४८ वर्षीय नृपबहादुर बिष्टको घरमा जुवातास खेलिरहेको अवस्थामा बिष्टसहित आठ जना पक्राउ परेका छन्। प्रहरी चौकी मंगलसेनबाट खटिएको टोलीले आइतबार राति उनीहरूलाई ६९ हजार ५२५ रुपैयाँ नगद र एक बुक ताससहित पक्राउ गरेको हो।

प्रहरीको विवरणअनुसार चारवटै घटनामा गरी ३७ जना पक्राउ परेका छन्। उनीहरूबाट कुल ९ लाख ६४ हजार ७८० रुपैयाँ नगद र ११ बुक तास बरामद भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *