`

मुख्यमन्त्री थापा र मन्त्री मगरबिच कार्यसम्पादन सम्झौता

Nepal One HD १० कार्तिक २०८३ २१:३८
राजनीति

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर र कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आलेमगरबिच साेमबार कार्यसम्पादन सम्झौता भएको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा समावेश योजना तथा आयोजनालाई निर्धारित समयभित्र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।

मुख्यमन्त्री थापाले यसअघि प्रदेश सरकारका अन्य मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरिसकेका थिए। स्वास्थ्य समस्याका कारण अन्य मन्त्रीहरूसँगै पद तथा गोपनीयताको शपथ लिन नसकेकी मन्त्री मगरले गत असोज २ गते मात्रै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिइन्।

सम्झौतामार्फत मन्त्रालयअन्तर्गतका योजना तथा कार्यक्रमलाई निर्धारित समय र गुणस्तरअनुसार कार्यान्वयन गर्ने, बजेटको प्रभावकारी उपयोग गर्ने तथा कार्यसम्पादनलाई परिणाममुखी बनाउने लक्ष्य राखिएको छ।

मुख्यमन्त्री थापाले प्रदेश सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरे पनि नेकपा (एमाले) बाट मन्त्री बनेका ज्ञानबहादुर तामाङले भने हालसम्म मन्त्रालयको जिम्मेवारी पाएका छैनन्। उनी विना विभागीय मन्त्रीका रूपमा रहेका छन्।

कार्यसम्पादन सम्झौतापछि मन्त्रालयअन्तर्गतका योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता मन्त्री मगरले व्यक्त गरेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *