`

चक्रवात ‘अर्नब’ले नेपालमा निम्त्याउन सक्छ यस्तो विपद्!

Nepal One HD १२ कार्तिक २०८३ ११:४६
प्रमुख खबर

काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि यसको प्रभाव पर्ने सम्भावना देखिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले मौसम पूर्वानुमानका आधारमा असोज १३ देखि १५ गतेसम्म विशेष सावधानी अपनाउन अनुरोध गरेको हो। भारतमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवातको प्रभाव नेपालमा अक्टोबर २९ को रातिदेखि अर्थात् भोलिदेखि देखिन सक्ने जनाइएको छ।

प्राधिकरणका अनुसार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा अक्टोबर ३० र ३१ मा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्छ। केही स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले थप सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न र अत्यावश्यक कामबाहेक यात्रा टार्न अनुरोध गरिएको छ। बाढीबाट प्रभावित हुन सक्ने नदी किनार तथा अन्य जोखिमयुक्त स्थानमा नबस्न र मौसम पूर्वानुमान तथा पूर्वसूचनालाई नियमित रूपमा पछ्याउन पनि प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले विपद्को जोखिमबाट जोगिन पूर्वतयारी गर्न र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्का बेला सहयोगका लागि १२३४, नेपाल प्रहरीका लागि १००, सशस्त्र प्रहरीका लागि १११४ र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न सकिने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *