`

जातीय विभेद गर्नेलाई कडा कारबाही गर्न मन्त्री बादीको जोड

Nepal One HD १२ कार्तिक २०८३ १४:४६
प्रमुख खबर

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले जातीय भेदभाव तथा छुवाछुतका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रभावकारी अनुसन्धान र शीघ्र कारबाही गर्नुपर्नेमा जोड दिएकी छन्।

मन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग भएको भेटवार्तामा मन्त्री बादीले पीडितलाई न्याय दिलाउने प्रक्रिया प्रभावकारी बनाउनुपर्ने बताएकी हुन्। भेटमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यकलगायत जोखिममा रहेका समुदायको अधिकार संरक्षण, सुरक्षा र न्यायमा पहुँच बढाउने विषयमा छलफल भएको थियो।

जातीय विभेद तथा छुवाछुतका घटनामा परेका उजुरीलाई संवेदनशीलतापूर्वक लिएर अनुसन्धान र अभियोजन प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए। यसका लागि नेपाल प्रहरीमा रहेको दलित सहायता कक्षलाई थप सक्रिय र प्रभावकारी बनाउने विषयसमेत उठाइएको थियो।

प्रहरी कर्मचारीलाई नियमित तालिम र ब्रिफिङमार्फत जातीय विभेदविरुद्धका कानुनी व्यवस्था, पीडितमैत्री व्यवहार र जवाफदेहिताबारे सचेत गराउनुपर्ने आवश्यकता औँल्याइएको थियो।

भेटवार्तामा महिला तथा बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार नियन्त्रण, जोखिममा रहेका बालबालिकाको संरक्षण, पुनर्स्थापना तथा पारिवारिक पुनर्मिलनलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई थप सक्रिय बनाउँदै स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर पीडितमैत्री सेवा प्रवाह गर्नुपर्नेमा जोड दिइएको थियो।

सीमान्तकृत समुदायबाट प्राप्त उजुरी तथा गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्ने, पीडितलाई आवश्यक सुरक्षा उपलब्ध गराउने र कानुनी उपचारमा सहज पहुँच सुनिश्चित गर्ने विषय पनि छलफलमा समेटिएको थियो।

त्यसैगरी, सीमापार बालबालिकाको ओसारपसार तथा बेचबिखनको जोखिम घटाउन सीमा क्षेत्रमा निगरानी बढाउने, स्थानीय बालकल्याण अधिकारी र स्थानीय तहसँग समन्वय गर्ने तथा सम्बन्धित निकायबीच सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो।

मन्त्रालय र नेपाल प्रहरीबीच समन्वय सुदृढ गर्दै जातीय विभेदविरुद्ध कानुनी कारबाही, हिंसापीडितको संरक्षण तथा महिला, बालबालिका र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न थप प्रभावकारी रूपमा काम गर्नुपर्नेमा भेटवार्ताले जोड दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *