`

ग्यास किन्दा बिल अनिवार्य, निगमको निर्णयलाई व्यवसायी महासंघको समर्थन

Nepal One HD १२ कार्तिक २०८३ १४:५४
अर्थ समाचार

काठमाडौं । एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बीजक दिनुपर्ने नेपाल आयल निगमको निर्देशनलाई ग्यास विक्रेता महासंघ नेपालले स्वागत गरेको छ।

महासंघले यो व्यवस्थाले ग्यासको कारोबारलाई पारदर्शी, व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुग्ने जनाएको छ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै निगमको निर्णयलाई सकारात्मक कदमका रूपमा व्याख्या गरेको हो। निगमको एलपी ग्यास तथा एभिएसन विभागले गत कात्तिक ९ गते सबै ग्यास उद्योगलाई पत्राचार गरी बिक्रेतामार्फत उपभोक्तालाई अनिवार्य बिल उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।

ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिइएको गुनासो बढ्दै गएपछि निगमले यस्तो व्यवस्था गर्न उद्योगहरूलाई भनेको थियो। बिल अनिवार्य गर्दा कारोबारको अभिलेख राख्न, आर्थिक पारदर्शिता कायम गर्न र उपभोक्ताको अधिकार संरक्षण गर्न सहज हुने महासंघको ठहर छ।

ग्यासको कारोबारलाई थप व्यवस्थित बनाउन महासंघले यसअघि पनि निगमसमक्ष विभिन्न सुझाव राख्दै आएको जनाएको छ। अनिवार्य रूपमा भ्याट बिल वा बीजक जारी गर्ने व्यवस्थालाई ग्यास व्यवसायमा महत्त्वपूर्ण उपलब्धिका रूपमा स्थापित गर्न सकिने महासंघको भनाइ छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले निगमको निर्देशन पूर्ण रूपमा पालना गर्न सबै ग्यास व्यवसायीलाई आग्रह गरेका छन्। उनले उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिक्रेतासँग अनिवार्य रूपमा बिल वा बीजक माग्न र लिने बानी बसाल्न अनुरोध गरेका छन्।

निगमको निर्देशन कार्यान्वयनमा आएपछि ग्यास बिक्रीको कारोबारलाई व्यवस्थित बनाउन र बिल नदिने प्रवृत्ति नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *