`

विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण अन्तिम चरणमा

Nepal One HD १३ कार्तिक २०८३ १४:५२
समाचार

काठमाडाैं । कोशी प्रदेशको प्रमुख विमानस्थल विराटनगरमा निर्माणाधीन नयाँ टर्मिनल भवनको काम ८१ प्रतिशत सम्पन्न भएको छ । यात्रुलाई सहज र आधुनिक सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण भइरहेको भवन अत्याधुनिक प्रविधिसहित तयार गरिनेछ ।

सन् १९५८ मा सञ्चालनमा आएको विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण विसं २०७९ पुसमा सुरु गरिएको थियो । विमानस्थलका टर्मिनललगायत भौतिक संरचनालाई भूकम्प प्रतिरोधी बनाउने उद्देश्यले अघि बढाइएको यस परियोजनामा तीन अर्ब १२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

विमानस्थल कार्यालयका सूचना अधिकारी सञ्जीव खड्काका अनुसार निर्माणाधीन भवन तीन तलाको हुनेछ । यसको कुल क्षेत्रफल १८ हजार वर्गमिटर रहेको छ ।

त्यस्तै, १२२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार ७७५ मिटर लामो छ । यहाँ दैनिक २० देखि २५ वटासम्म उडान हुने गरेको खड्काले जानकारी दिएका छन् ।

निर्माण कम्पनीले विसं २०८३ पुसभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको छ । नयाँ टर्मिनल भवन तयार भएपछि विमानस्थलको जहाज पार्किङ क्षमता पनि विस्तार हुनेछ ।

हाल पाँचवटा जहाज पार्किङ गर्न सकिने विमानस्थलमा नयाँ संरचना निर्माणपछि सातवटासम्म जहाज पार्किङ गर्न सकिने व्यवस्था मिलाइने जनाइएको छ । साथै, नयाँ टर्मिनल सञ्चालनमा आएपछि यात्रुलाई थप सहज सेवा उपलब्ध हुनुका साथै विमानस्थलको समग्र सेवा क्षमतामा समेत सुधार हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *