चीनमा ११० मानव स्वरूपका रोबोटले एकैसाथ नाचेर बनाए विश्व कीर्तिमान
काठमाडौं । चीनले रोबोटिक्स प्रविधिमा नयाँ विश्व कीर्तिमान कायम गरेको छ । चीनको शान्दोङ प्रान्तमा ११० वटा मानव स्वरूपका रोबोटले एकैसाथ ताल मिलाएर नृत्य प्रदर्शन गरेका हुन् ।
‘एजिबट’ कम्पनीले निर्माण गरेका ‘एक्सपिडिसन ए-थ्री’ नामका रोबोटले एकै समयमा शरीरका विभिन्न भाग चलाउँदै जटिल नृत्य प्रस्तुत गरेका थिए । सबै रोबोटले आपसी तालमेल कायम गर्दै एउटै लयमा चाल प्रदर्शन गरेका थिए ।
मानिसको जस्तै स्वरूप र चाल भएका यी रोबोटको सामूहिक प्रस्तुतिले रोबोटको गति नियन्त्रण र एकअर्कासँग समन्वय गर्ने क्षमताको प्रदर्शन गरेको छ ।
यस उपलब्धिले मानव स्वरूपका रोबोट निर्माणमा भइरहेको प्राविधिक विकासलाई समेत उजागर गरेको छ । साथै,रोबोटलाई भविष्यमा उद्योग, सेवा क्षेत्र तथा अन्य जटिल काममा प्रयोग गर्ने सम्भावनाका बीच यस्ता प्रदर्शनले प्रविधिको क्षमता थप स्पष्ट पारेका छन् ।
