जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं गोर्खाज ८ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ।
भर्खरै सम्पन्न खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै प्रतियोगितामा जितको खाता खोलेको हो।
काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। जनकपुरको जितमा मोइन अली र सैफ हसनले अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।
मोइनले आक्रामक ब्याटिङ गर्दै ५८ रन बनाएर नटआउट रहे। सैफ हसनले पनि अविजित ४० रनको योगदान दिए। काठमाडौंका रिपोन मन्डोलले जनकपुरको एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा ११५ रनमै समेटिएको थियो। उसका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
काठमाडौंको ब्याटिङ धराशायी बनाउन जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। सैफ हसनले दुई विकेट हात पार्दा हरमीत सिंह, मोइन अली र ललित राजवंशीले एक–एक विकेट लिए।
यसअघि प्रतियोगिताको आफ्नो पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। काठमाडौंमाथिको जितसँगै जनकपुरले प्रतियोगितामा पुनरागमन गरेको छ।
