चक्रवात ‘अर्णव’को जोखिमः मनाङमा सतर्कता, राति सवारी चलाउन रोक
काठमाडौं। बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को सम्भावित प्रभावले भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमानपछि मनाङमा सतर्कता बढाइएको छ। सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले नदी किनारका बस्तीमा माइकिङ गरी स्थानीय बासिन्दा, यात्रु र पदयात्रीलाई सचेत गराएको छ।
मस्र्याङ्दी नदी र आसपासका खोलामा बाढी आउन सक्ने भन्दै सदरमुकाम चामेसहित नदी किनारका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। चामेदेखि कोतो हुँदै भ्राताङसम्मका बासिन्दालाई जोखिमबारे जानकारी गराइएको छ। हुम्डे, धारापानी र ताल क्षेत्रका बासिन्दालाई पनि सावधानी अपनाउन भनिएको छ।
प्रहरीले नदी किनार, खोल्सा तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन र जोखिम देखिए सुरक्षित स्थानमा जान आग्रह गरेको छ। मौसम पूर्वानुमानअनुसार कात्तिक १२ देखि १५ गतेसम्म हल्कादेखि भारी वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। उक्त अवधिमा मनाङ हुँदै यात्रा गर्ने तथा विभिन्न पदमार्गमा पदयात्रा गर्ने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक विनोद बोहराले बताएका छन्।
यसअघि असोज ८ देखि १० गतेसम्म परेको भारी वर्षाले पनि मनाङमा क्षति पुर्याएको थियो। मस्र्याङ्दी नदी र आसपासका खोलामा आएको बाढीपहिरोका कारण ताल गाउँको तल्लो भाग र सदरमुकाम चामेका केही घर डुबानमा परेका थिए।
घट्टेखोलामा पहिरो खसेर मस्र्याङ्दी नदी थुनिएपछि बनेको तालमा ढुङ्गा, गिट्टी र बालुवा थुप्रिँदा माथिल्लो मनाङ जाने एकमात्र ट्रस पुलसमेत डुबानमा परेको थियो। पुलमा क्षति पुगेपछि काठ राखेर अस्थायी रूपमा आवागमन सञ्चालन गरिएको छ। माथिल्लो मनाङ जोड्ने प्रमुख मार्ग प्रभावित हुँदा स्थानीय बासिन्दा र यात्रुको आवतजावतसमेत असहज बनेको थियो।
पुनः वर्षा र हिमपातको सम्भावना देखिएपछि प्रहरीले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी सूचना नियमित रूपमा लिन र सम्भावित विपत्तिबाट जोगिन पूर्वतयारी अपनाउन आग्रह गरेको छ।
यसैबीच, चक्रीय अन्नपूर्ण पदमार्गमा पदयात्रा तथा हिमाल आरोहण गर्दा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मनाङले अनुरोध गरेको छ। मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार कात्तिक १२ देखि १५ गतेसम्म मौसम प्रतिकूल हुन सक्ने भन्दै प्रशासनले सूचना जारी गरेको हो।
भारी वर्षा र हिमपातका कारण उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा आरोहण जोखिमपूर्ण हुन सक्ने प्रशासनले जनाएको छ। मुस्ताङ प्रवेश गर्ने थोराङ्ला पास, गोरखातर्फको लार्के पास, नार्पाभूमिबाट मनाङ ङिस्याङतर्फको काङ्ला पास, तिलिचो ताल, हिमलुङ हिमाल र लमजुङ हिमाल आसपासका पदमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
प्रशासनले मौसमको अवस्था नबुझी पदयात्रा तथा आरोहणमा ननिस्कन, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र अद्यावधिक मौसम सूचना लिएर मात्रै यात्रा योजना बनाउन अनुरोध गरेको छ। पदयात्राका क्रममा बाटोमै रहेका पर्यटक तथा पदयात्रीलाई पनि मौसम र पदमार्गको अवस्थाबारे जानकारी लिएर सुरक्षित निर्णय गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताएका छन्।
यसैगरी, जिल्ला प्रशासन कार्यालय लमजुङले कात्तिक १२ देखि १५ गतेसम्म लमजुङबाट मनाङ जाने सवारीसाधनको रात्रिकालीन आवतजावतमा रोक लगाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार उक्त अवधिमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइने छैन।
सम्भावित दुर्घटना र जोखिम न्यूनीकरणका लागि यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ। प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्भव भएसम्म सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
