`

चार विकेट लिएर ‘म्यान अफ द म्याच’ बने राहुल 

Nepal One HD १३ कार्तिक २०८३ १६:२४
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई पहिलो जित दिलाउने क्रममा किशोर बलर राहुल यादवले उत्कृष्ट प्रदर्शन गरेका छन्। काठमाडौं गोर्खाजविरुद्ध चार विकेट झारेका राहुल खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।

जनकपुरले काठमाडौंले दिएको ११६ रनको लक्ष्य १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्दै आठ विकेटको जित निकालेको थियो। टोलीको जितमा ब्याटिङसँगै राहुलको घातक बलिङ पनि निर्णायक बन्यो।

राहुलले काठमाडौंका चार ब्याट्सम्यानलाई पवेलियन फर्काए। उनका सिकार हुनेमा दुवै ओपनर स्मित पटेल र साम हिजलेटसँगै करण केसी तथा आदिल आलम थिए। सुरुआती विकेट खसाल्दै काठमाडौंलाई दबाबमा राख्न उनले महत्त्वपूर्ण भूमिका खेले।

राहुलको यो प्रतियोगितामा दोस्रो प्रभावशाली प्रदर्शन हो। यसअघि कर्णाली याक्सविरुद्धको पहिलो खेलमा पनि उनले दुई विकेट लिएका थिए। तर, त्यस खेलमा जनकपुर १९ रनले पराजित भएको थियो।

काठमाडौंविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शनपछि ‘म्यान अफ द म्याच’ बनेका राहुलले आफू निकै खुसी भएको प्रतिक्रिया दिए। उनले दुवै खेलमा पहिलो बलमै विकेट लिन सफल भएको उल्लेख गर्दै प्रतियोगिताबाट धेरै कुरा सिकिरहेको बताए।

‘म एकदम खुसी छु। पहिलो म्याचमा पनि पहिलो बलमा विकेट आयो, दोस्रोमा पनि पहिलो बलमै विकेट आयो। खुसी लागेको छ। म धेरै कुरा सिकिरहेको छु। बाँकी खेलमा पनि राम्रो गर्ने प्रयास गर्नेछु,’ उनले भने।

कम उमेरमै एनपीएलजस्तो प्रतियोगितामा प्रभावशाली बलिङ गरेका राहुलको प्रदर्शन जनकपुरका लागि उत्साहजनक बनेको छ। अब बाँकी खेलमा पनि यही लय कायम राख्ने चुनौती उनीसामु हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *