प्रश्न उठ्दा विषयान्तरको राजनीति
काठमाडाैं। लुडो र तासको कलब्रेक खेल्नुहुन्छ? खेल्नुहुन्न भने हाम्रो देशका प्रधानमन्त्रीले सिकाइदिनुहुन्छ। उहाँलाई सम्पर्क गर्नुस्। बिहान सामान्यतया नेपाली समाजमा पूजाअर्चना गर्ने गरिन्छ। अधिकांश नागरिकले भजन सुन्ने गर्छन्। भगवानले रक्षा गरून् भनेर।
तर, आज नागरिकका भगवान् बालेन्द्र शाह ‘बालेन’ ले तास र लुडोको विज्ञापन गरिदिए। तपाईंलाई लाग्न सक्छ- प्रधानमन्त्रीले किन यस्तो गरेका होलान्? यसको सामान्य उत्तर छ- आफ्नो गल्ती ढाकछोप गर्न र आफ्नो अयोग्यता पुष्टि हुन नदिन।
शुक्रबार बालेन्द्र सरकारले सञ्चारमाध्यमहरूमाथि राज्यआतङ्क मच्चायो। नेपाल प्रेस, नयाँ पत्रिका, दियो पोस्टलगायतका सञ्चारमाध्यमका पत्रकारहरूलाई गैरकानुनी तवरले पक्राउ गर्यो। तत्कालीन तानाशाह ज्ञानेन्द्र शाहको शैलीमा। सरकारले सिङ्गो प्रहरी सङ्गठनलाई मिडियाका विरुद्धमा प्रयोग गर्यो। त्यसको चौतर्फी आलोचना भएपछि गल्ती महसुस गरेको बालेन्द्र सरकारले शुक्रबार राति नै अनधिकृत तवरले पक्राउ गरेका सबै पत्रकारलाई रिहा समेत गर्यो।
अर्कोतिर, गृह मन्त्रालयमातहत चल्ने प्रहरी सङ्गठनका गतिविधिबारे सरकारलाई मिडियामाथिको राज्यआतङ्कका बारेमा चाहिँ केही थाहा छैन। तपाईंहरूलाई एउटा कुरा थाहा छ- बालेन्द्र सरकार त्यही सरकार हो, जसले विगतमा देशमा पानी पर्दा समेत त्यसको जिम्मा तत्कालीन सरकारले लिनुपर्थ्यो भन्ने वकालत गर्थ्यो। आफ्नो साइबर सेना प्रयोग गरेर। यो त्यही सरकार हो, जसले क्रिकेटमा नेपाल कसैसँग पराजित हुँदा तत्कालीन सरकारहरूलाई तथानाम गाली गर्थ्यो, छाडा बोल्थ्यो र समाजले पचाउन नसक्ने भाषाको प्रयोग गर्थ्यो।
तर, अहिले आफ्नै मातहत चल्ने प्रहरीका गतिविधिबारे आफूलाई थाहा छैन भनेर सरकारले आफ्नो लाज छोप्ने ठूलो प्रयत्न गर्यो। त्यसमा बालेन्द्रको टोली असफल भयो। गज्जबको नाटक मञ्चन भइरहेको छ अहिले। सरकारका यी र यस्ता गतिविधिबारे सत्ताधारी पार्टी रास्वपालाई पनि केही थाहा छैन रे! अनि पत्याइदिनुपर्ने हो? थाहा चाहिँ कसलाई हुनुपर्ने हो? शेरबहादुर देउवा, केपी शर्मा ओली वा पुष्पकमल दाहाललाई? या मलाई?
यति कुराले काम नगरेपछि बालेन्द्रले बिहानै सायद मुख नधोएर हुनुपर्छ- लुडो र तासको विज्ञापन गरे। शुक्रबारको घटनालाई विषयान्तर गर्न।
बालेन्द्र सरकार मुद्दा र घटनाको विषयान्तर गर्न माहिर छ। उसले आफ्नो अयोग्यता र अक्षमता लुकाउन विषयान्तरको सिलसिला नै चलाउँदै आएको छ। शुक्रबार मिडियामाथि भएको राज्यआतङ्क आफैँमा एउटा विषयान्तरको हथकण्डा थियो। बालेन्द्र सरकारले बालेन्द्र आफैँ, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश र नेपाल प्रहरीका आईजीपीसमेत जोडिएको इनाम सापकोटा प्रकरणबाट ध्यान भड्काउन शुक्रबारको नाटक मञ्चन गर्यो।
बालेन्द्र सरकारले कुनै पनि मुद्दाको विषयान्तर गरेको यो पहिलो पटक होइन। यो सरकार गठन भएदेखि नै उसले विभिन्न विषयमा विषयान्तर गर्दै आएको छ। सुकुम्बासी विस्थापन प्रकरण, गणेश नेपाली प्रकरण, मिडियाको अगाडि गाडी तेस्र्याउने घटना, प्रधानमन्त्री बालेन्द्रको राष्ट्रियताविरुद्धको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति, जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ प्रकरण, सिरहाको कप्तानगञ्ज घटना- यी लगायतका मुद्दाहरू बालेन्द्र सरकारले गर्न खोजेको विषयान्तरका उपज हुन्।
तर, जसरी बालेन्द्र सरकारले कुनै घटना वा मुद्दाको विषयान्तर गरिरहेको छ, एक दिन यो सरकारले विषयान्तर गर्न सायदै कुनै विषय पाउनेछ। त्यसैले सरकारले वास्तविक समस्याहरूको समाधान खोजोस्, विषयान्तर होइन।
विषयान्तरले तत्कालका लागि कुनै पनि घटना वा समस्यालाई ओझेलमा त पार्न सक्ला, तर समाधान दिँदैन। बालेन्द्र सरकारको यो विषयान्तरको सिलसिलाले समस्याको जरो झन् गहिरो बन्न सक्छ। त्यसकारण कुनै समस्यालाई तोडमोड गरी अन्यत्र ध्यान भड्काउनुभन्दा सरकारका लागि आफ्ना गल्तीहरू सच्याएर अघि बढ्ने बाटो नै सबैभन्दा उपयुक्त हुन सक्छ।
