`

दीपावली र छठको सङ्घारमा सजिए जनकपुरधामका पोखरी, बजारमा बढ्यो चहलपहल

Nepal One HD १७ कार्तिक २०८३ ९:१५
अर्थ समाचार

धनुषा । दीपावली तथा छठ पर्व नजिकिएसँगै जनकपुरधामका बजार क्षेत्र र पोखरी तथा तलाउको सरसफाइ थालिएको छ।मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउने तयारीस्वरूप विभिन्न पोखरी तथा जलाशय सफा गर्न सुरु गरिएको हो।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहका अनुसार गङ्गासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायत पोखरी तथा तलाउको सरसफाइ भइरहेको छ। विशेषगरी गङ्गासागर, धनुषसागर र अरगज्जासरलगायत जलाशयमा छठ मनाउने परम्परा रहेकाले स्थानीयवासीको सहयोगमा सरसफाइलाई तीव्रता दिइएको उनले बताए।

पर्व नजिकिएसँगै जनकपुरधामका पेठिया बजार, गाउँघरका हाट तथा मेलामा पूजाका लागि आवश्यक बाँसबाट निर्मित सामग्री खरिद गर्ने ग्राहकको चहलपहल बढेको छ। दीपावलीमा प्रयोग हुने माटाका सामग्री तथा छठ पूजामा प्रयोग हुने छिट्टी, डाला, नाङ्लो, सुप, कोनिया र डगरीजस्ता बाँसका सामग्रीको माग उच्च छ। सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा फलफूल तथा प्रसाद राख्न बाँस निर्मित सामग्री प्रयोग गर्ने परम्परा छ। पर्व नजिकिएसँगै माटाका भाँडा, दियो तथा अन्य पूजासामग्रीको बिक्री बढेको पेठिया बजारका व्यापारी सन्तोष साहले बताए।

छठ पर्वको अन्तिम समयमा हुने भीडभाडबाट बच्न श्रद्धालुहरूले तिहारअघि नै सामग्री खरिद गर्न थालेको जनकपुरधाम उपमहानगरपालिका–४ निवासी सुमित्रादेवी कर्णले बताइन्।

बाँसका सामग्रीको माग बढेसँगै पुस्तौँदेखि यस्ता सामग्री निर्माण गर्दै आएका डोम समुदायका कारिगर तथा व्यवसायीलाई आम्दानीको अवसर सिर्जना भएको छ। यस समुदायका धेरै परिवारले पुर्ख्यौली पेसाका रूपमा बाँसका चोया र कप्टेराबाट पूजासामग्री निर्माण गर्दै आएका छन्। यसले एकातिर मिथिलाको मौलिक संस्कृति र परम्पराको संरक्षणमा सहयोग पुर्‍याएको छ भने अर्कातिर परम्परागत पेसामा आबद्ध समुदायको जीविकोपार्जनमा टेवा पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *