टोल शुल्क सुरु भएको पहिलो दिन नागढुङ्गा सुरुङमार्गबाट ११ लाख बढी संकलन
काठमाडौं । नागढुङ्गा सुरुङमार्गमा टोल शुल्क लागू भएको पहिलो दिन नै अनुमानभन्दा बढी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन्। शुल्क लागू भएको पहिलो दिन करिब ७ हजार ५०० सवारीसाधनले सुरुङमार्गबाट यात्रा गरेका छन्। ती सवारीसाधनबाट ११ लाख ७० हजार रुपैयाँ सडक दस्तुर अर्थात् टोल शुल्क संकलन भएको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार कात्तिक १५ गते राति १२ बजेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट औपचारिक रूपमा टोल शुल्क उठाउन थालिएको हो। टोल शुल्क लागू भएको पहिलो दिन नै दैनिक अनुमानित सवारीसाधनको संख्याभन्दा बढी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका हुन्।
यसअघि आयोजनाले दैनिक करिब ५ हजार सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरेको थियो। तर शुल्क लागू भएको पहिलो दिन नै करिब ७ हजार ५०० सवारीसाधनले सेवा लिएपछि सुरुङमार्गप्रति सवारीचालक तथा यात्रुको आकर्षण उल्लेखनीय रहेको देखिएको छ। अनुमानभन्दा करिब २ हजार ५०० बढी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन्।
