बस्तीमै पुगेर भूमिहीनका समस्या सुन्दै मन्त्री प्रतिभा रावल, लालपुर्जा वितरण तीव्र बनाउने प्रतिबद्धता
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले झापाका भूमिहीन नागरिकका बस्तीमै पुगेर उनीहरूका समस्या, गुनासा तथा अपेक्षाबारे जानकारी लिएकी छन्।
मन्त्री रावलले झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गरेकी हुन्। भेटघाटका क्रममा स्थानीय नागरिकले आफ्ना समस्या तथा गुनासा राखेका थिए। मन्त्री रावलले उनीहरूका कुरा सुन्दै समस्या समाधानका लागि सरकारले गरिरहेका प्रयास र आगामी कार्ययोजनाबारे जानकारी दिइन्।
सो अवसरमा मन्त्री रावलले भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रियालाई तीव्रता दिने बताइन् । उनले नागरिकका समस्या प्रत्यक्ष रूपमा बुझेर समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले झापा भ्रमण गरेकी थिइन्।
उनले भूमिहीन नागरिकका समस्या समाधान र लालपुर्जा वितरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन्। साथै, अर्जुनधारा र मेचीनगरका भूमिहीन बस्तीमा पुगेर नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गरेसँगै मन्त्री रावलको झापा भ्रमण सम्पन्न भएको छ।
