इनम प्रकरणमा सत्ता दुरुपयोग भएको कांग्रेस महामन्त्री डिला संग्रौलाको आरोप
काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले इनम सापकोटा प्रकरणलाई लिएर सरकारमाथि गम्भीर प्रश्न उठाएकी छन्।
उनले सत्ताको दुरुपयोग भइरहेको आरोप लगाउँदै प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)नेतृत्वको सरकारलाई जवाफदेही बन्न चुनौती दिएकी हुन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै संग्रौलाले देशमा सुशासनभन्दा छाडातन्त्र हावी हुन थालेको टिप्पणी गरेकी छन्। प्रधानमन्त्री शाह छन् कि अरू कसैले सत्ता सञ्चालन गरिरहेको छ भन्ने प्रश्नसमेत आम नागरिकमा उठ्न थालेको उनको भनाइ छ।
उनले प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भन्ने विषय जिम्मेवार सञ्चारमाध्यमबाट सार्वजनिक भएको उल्लेख गरेकी छन्।
उक्त प्रकरणमा सत्ता र सत्तारुढ दलले जवाफ दिनुपर्ने उनको माग छ। प्रतिपक्षी दलमाथि मात्रै प्रश्न उठाउने तर सत्तापक्षका गतिविधिमाथि प्रश्न गर्न नपाइने अवस्था लोकतन्त्रका लागि स्वीकार्य नहुने उनले बताएकी छन्।
लोकतन्त्रको पहरेदारका रूपमा नेपाली कांग्रेसमाथि सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको आरोप लगाउँदै उनले सत्ताका गल्तीको पर्दाफास हुँदा वास्तविकता बाहिर आउने चेतावनीसमेत दिएकी छन्।
संग्रौलाले इनम प्रकरणलाई कानुनी शासन, जवाफदेहिता र सुशासनसँग जोड्दै सरकारलाई सार्वजनिक रूपमा जवाफ दिन आग्रह गरेकी छन्।
