`

समस्याग्रस्त ७ सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता

Nepal One HD १९ कार्तिक २०८३ १४:०३
अर्थ समाचार

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताको रकम फिर्ता गरेको छ । समितिले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार २३ जनाले पूर्ण र ९९ जनाले आंशिक बचत रकम फिर्ता पाएका हुन् ।

पूर्ण बचत फिर्ता पाउनेमा नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीका २३ जना बचतकर्ता छन् ।

त्यस्तै, कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका ९९ जनाले आंशिक बचत रकम फिर्ता पाएका छन् ।

समितिका अनुसार बचतकर्तालाई फिर्ता गरिएको रकम सम्बन्धित समस्याग्रस्त सहकारीका ऋणीबाट असुल गरिएको हो । सहकारीको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्ने गरिएको समितिले जनाएको छ ।

पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिइएको छ । आगामी दिनमा पनि बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गर्दै जाने समितिको योजना छ ।

साथै, समितिले समस्याग्रस्त सहकारीको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार फिर्ता गर्ने प्रक्रिया निरन्तर अघि बढाइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *