`

कार्कीलाई आईजीपीबाट हटाउने खेलमा बिचौलियासँग साँठगाँठमा थिए केसी !

समिन बरूवाल १९ कार्तिक २०८३ १४:१५
बिशेष
काठमाडौं । सरकारले दानबहादुर कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

तर, कार्कीलाई हटाएर केसीलाई आईजीपी बनाउने निर्णयका पछाडि लामो समयदेखि चलिरहेको चलखेल र विवादका अनेक शृङ्खला जोडिएका छन् । बिचौलिया इनाम सापकोटा प्रकरणले तातेको विवादको पहिलो निशानामा आईजीपी कार्की परे । अर्कोतर्फ, कार्कीलाई हटाउने योजनाको मुख्य सूत्रधार नै नवनियुक्त आईजीपी केसी रहेको सार्वजनिक भएको अडियोले देखाएको छ ।

रास्वपा सांसद खगेन्द्र सुनारसँग निकट सम्बन्ध रहेका नारायण भण्डारी र एआईजी केसीबीच आईजीपी कार्कीलाई पदबाट हटाउने विषयमा भएको संवादको अडियो केही दिनअघि नेपाल लिडले सार्वजनिक गरेको थियो । उक्त अडियोमा कार्कीलाई हटाउन गृहमन्त्री सुधन गुरुङको समर्थन जुटाएर भण्डारी र केसी सक्रिय रहेको सुनिन्छ ।

केसी उनै प्रहरी अधिकृत हुन्, जसलाई जेनजी विद्रोहपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख बनाएको थियो । तर, संगठनको नेतृत्वमा रहेका आईजीपी कार्कीलाई हटाएर आफू उक्त पदमा पुग्ने योजनामा उनी सक्रिय रहेको अडियोले संकेत गर्छ । यसका लागि गृहमन्त्री गुरुङदेखि प्रहरी संगठनबाहिरका व्यक्ति नारायण भण्डारीसम्मसँग उनको समन्वय रहेको संवादमा सुनिन्छ ।

सार्वजनिक अडियोमा आईजीपी कार्की कहाँ गए, कोसँग भेट गरे र कति बजे भेट गरे भन्नेसम्मको निगरानी गरिएको संवाद छ । कार्कीका गतिविधिबारे सूक्ष्म जानकारी राख्दै उनको राजीनामाको वातावरण बनाउने प्रयास भएको देखिन्छ । बालेन सरकारनिकट प्रहरी अधिकृतका रूपमा चिनिएका केसी आफैँ आईजीपी बन्ने उद्देश्यले यस्तो चलखेलमा संलग्न भएको आरोपसमेत यस प्रकरणले जन्माएको छ ।

पछिल्ला दिनमा विभिन्न सञ्चारमाध्यममा आईजीपी कार्कीलाई हटाउने तयारीमा बालेन सरकार लागेको आशयका समाचार प्रकाशित भएका थिए । ती समाचारको प्रहरी प्रधान कार्यालयले गत बिहीबार खण्डन गरेको थियो । तर, त्यसको भोलिपल्ट शुक्रबार प्रहरी आफैँ विवादमा तानियो । सञ्चारगृहबाटै प्रहरीले पत्रकारलाई पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिएर केही घण्टा हिरासतमा राख्यो । समाचारको स्रोत पत्ता लगाउने उद्देश्यले उनीहरूमाथि सोधपुछ गरिएको थियो ।

चौतर्फी विरोध भएपछि पक्राउ परेका पत्रकारहरू रिहा भए । पत्रकार पक्राउ गर्न प्रधानमन्त्री बालेन शाहको सचिवालयबाट आईजीपी कार्कीलाई बिहीबार पटकपटक निर्देशन दिइएको चर्चा पनि सार्वजनिक भएको थियो । अन्ततः शुक्रबार तीन जना पत्रकार पक्राउ परेपछि प्रहरी नेतृत्वमाथि नै प्रश्न उठ्यो । समाचारको खण्डन गरेको भोलिपल्ट पत्रकार पक्राउ गर्ने घटनाले आईजीपी कार्कीलाई थप विवादमा तान्यो ।

तर, घटनाक्रमलाई नजिकबाट नियालिरहेका कतिपयले यसलाई कार्कीलाई बदनाम गर्ने र नेपाली समाजमा उनको नेतृत्वप्रति नकारात्मक सन्देश प्रवाह गर्ने रणनीतिका रूपमा व्याख्या गरेका छन् । प्रहरी नेतृत्व परिवर्तनको चलखेलबीच पत्रकार पक्राउ प्रकरणलाई समेत कार्कीविरुद्ध प्रयोग गरिएको उनीहरूको बुझाइ छ ।

यहीबीच गृहमन्त्री सुधन गुरुङको समर्थन प्राप्त भनिएका भण्डारी र एआईजी केसीबीच भएको अर्को संवादको अडियो सार्वजनिक भयो । उक्त संवादमा आईजीपी कार्कीले भोलिपल्ट शतप्रतिशत राजीनामा दिने दाबी गरिएको सुनिन्छ । यसले कार्कीलाई पदबाट हटाउने प्रयास आकस्मिक नभई योजनाबद्ध रूपमा अघि बढाइएको थियो कि भन्ने प्रश्न खडा गरेको छ ।

रास्वपा सांसद खगेन्द्र सुनारनिकट मानिने भण्डारीले अडियो संवादमा केसीलाई ‘दाइ’ भनेर सम्बोधन गरेका छन् । उनीहरूबीच आईजीपी कार्कीको राजीनामा, अदालतमा मुद्दाको पेसी र गृहमन्त्री गुरुङसँग हुने भेटघाटबारे कुराकानी भएको सुनिन्छ । अडियोमा देखिएको संवादले प्रहरी संगठनको नेतृत्व परिवर्तनजस्तो संवेदनशील विषयमा संगठनभित्रका अधिकारी र बाह्य व्यक्तिहरूबीच कसरी समन्वय र चलखेल हुन सक्छ भन्ने गम्भीर प्रश्न उठाएको छ ।

आईजीपी कार्की प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको रोजाइमा नपरेको प्रहरी नेतृत्वका रूपमा चित्रित हुँदै आएका थिए । गत असोजमा उनलाई आईजीपी नियुक्त नगर्न तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालमाथि चर्को दबाब परेको चर्चा थियो । अर्याल बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनका कानुनी सल्लाहकार थिए । तर, अर्यालले दबाबका बाबजुद कार्कीलाई आईजीपी नियुक्त गरेपछि बालेनसँग उनको सम्बन्ध बिग्रिएको बताइन्छ ।

यसरी सुरु भएको विवाद अन्ततः प्रहरी नेतृत्व परिवर्तनको निर्णयसम्म आइपुगेको छ । कार्कीलाई हटाउने चलखेलमा बाह्य व्यक्ति, प्रहरी अधिकारी र राजनीतिक नेतृत्वबीचको सम्बन्धबारे सार्वजनिक भएको अडियोले प्रहरी संगठनको निष्पक्षता र नेतृत्व चयन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ ।

आईजीपी नियुक्तिको निर्णयसँगै अडियोमा सुनिएका पात्र र उनीहरूको भूमिकाबारे थप बहस हुने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *