पार्टीको निर्देशनपछि आईजीपी कार्कीको जिम्मेवारी हेरफेर : पोखरेल
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको निर्देशनअनुसार कार्कीको जिम्मेवारी हेरफेर गरिएको बताएका हुन् ।
उनका अनुसार पछिल्लो बदलिँदो परिस्थितिमा संवेदनशील विषयमा सरकारले आवश्यक निर्णय लिनुपर्ने भन्दै पार्टीबाट निर्देशन आएको थियो । सोही निर्देशनपछि कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरिएको उनले बताए ।
‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ । पार्टीबाट पनि संवेदनशील विषयमा सरकारले केही गर्नुपर्यो भनेर निर्देशन आएको थियो,’ पोखरेलले भने, ‘त्यसपछि जिम्मेवारी हेरफेर गरिएको हो ।’
मन्त्री पोखरेलले प्रधानमन्त्रीलाई शान्ति सुरक्षा सम्बन्धी सल्लाह दिने जिम्मेवारी पनि संवेदनशील हुने उल्लेख गरे ।
प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्ति तथा जिम्मेवारी हेरफेरको विषयमा पार्टीको निर्देशन आएको सरकारका प्रवक्ताले नै सार्वजनिक गरेपछि प्रहरी नेतृत्वको नियुक्ति प्रक्रियाबारे राजनीतिक वृत्तमा चासो बढेको छ ।
