माइक्रोसफ्टको सेवा विश्वभर अवरुद्ध
काठमाडौं । माइक्रोसफ्टका प्रमुख डिजिटल सेवामा आएको प्राविधिक समस्याले विश्वभरका प्रयोगकर्ता प्रभावित भएका छन् । आउटलुक, माइक्रोसफ्ट ३६५, टिम्स र कोपाइलटलगायत सेवा अवरुद्ध हुँदा ७४ देशका व्यक्तिगत प्रयोगकर्ता, व्यावसायिक संस्था तथा सरकारी निकायको कामकाजमा असर परेको छ ।
नोभेम्बर १२ देखि सुरु भएको समस्या शुक्रबारसम्म पनि पूर्ण रूपमा समाधान हुन सकेको छैन । अमेरिकाबाट सुरु भएको अवरोध अन्य देशमा समेत फैलिएको हो ।
विशेषगरी माइक्रोसफ्टको इमेल सेवा आउटलुकमा समस्या देखिएको छ । प्रयोगकर्ताले इमेल खोल्न, पठाउन र प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । त्यस्तै, टिम्समार्फत अनलाइन बैठक गर्न, सेयरपोइन्टमा फाइल खोल्न र कोपाइलट प्रयोग गर्नसमेत समस्या भएको छ ।
सेवा अवरुद्ध भएपछि माइक्रोसफ्टमाथि साइबर आक्रमण भएको हुन सक्ने आशंका व्यक्त गरिएको थियो । तर कम्पनीले साइबर आक्रमण वा दुर्भावनापूर्ण गतिविधिको कुनै संकेत फेला नपरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानले आफ्नै प्राविधिक पूर्वाधारमा आएको समस्याका कारण सेवा प्रभावित भएको देखाएको छ ।
माइक्रोसफ्टका अनुसार विभिन्न क्षेत्रमा रहेका केही सर्भर अचानक अनुपलब्ध भएपछि अन्य सर्भरमा अत्यधिक भार परेको थियो । सीमित सर्भरले प्रयोगकर्ताका अनुरोध प्रशोधन गर्न नसक्दा इमेल तथा अन्य डिजिटल सेवामा समस्या आएको हो ।
त्यसका साथै प्रभावित सर्भरमा सुरक्षित कनेक्सन स्थापना गर्ने प्रक्रियामा पनि गडबडी देखिएको थियो । यसले प्रयोगकर्ताका अनुरोध प्रशोधनमा थप समस्या सिर्जना गरेको कम्पनीले जनाएको छ ।
त्यस्तै, समस्या समाधानका लागि माइक्रोसफ्टले प्रभावित सर्भर पुनः सञ्चालन गर्ने र प्रयोगकर्ताको ट्राफिक अन्य सर्भरतर्फ पठाउने प्रयास गरेको थियो । तर केही सर्भरमा ट्राफिक बढेपछि पुनः समस्या देखिएको थियो ।
त्यसपछि कम्पनीले सर्भरको कन्फिगरेसनमा परिवर्तन गर्दै प्राविधिक प्याच लागू गरेको थियो । नोभेम्बर १३ मा जारी अपडेटअनुसार केही सर्भरको स्थिरतामा सुधार देखिएको छ । यद्यपि सबै प्रभावित क्षेत्रमा सेवा पूर्ण रूपमा सामान्य भइसकेको छैन ।
सेवा अवरुद्ध हुँदा डाउनडिटेक्टरमा आउटलुकसम्बन्धी गुनासा तीव्र रूपमा बढेका थिए । एक समय करिब एक लाख ३० हजार प्रयोगकर्ताले सेवा सञ्चालनमा समस्या भएको रिपोर्ट गरेका थिए ।
आउटलुकसँगै माइक्रोसफ्ट ३६५ अन्तर्गतका वर्ड, एक्सेल, पावरपोइन्ट, टिम्स, सेयरपोइन्ट, वनड्राइभ र कोपाइलटमा समेत समस्या देखिएको थियो ।
माइक्रोसफ्टले सेवा पूर्ण रूपमा सामान्य हुने समयबारे निश्चित जानकारी दिएको छैन । साथै, कम्पनीले प्रभावित सर्भरको अवस्था निगरानी गर्दै सेवा पुनः सञ्चालनको प्रयास जारी राखेको जनाएको छ ।
